Friday, June 27, 2008

 यसरी नै चलि रहोस् नाम तिम्रो सधैं भरी

सबै तिर बढि रहोस् दाम तिम्रो सधैं भरी


तिम्रो पूजा म गर्छु तिमी अरुलाई नै पुज्छौ

मर्यादामा अडि रहोस् राम तिम्रो सँधै भरी


धेरै व्यस्त छौ हिजोआज, भेट्ने छैन फुर्सद

अन्तै कति परि रहोस् काम तिम्रो सँधै भरी


मैले मात्रै गरें प्रेम, आशुँ नि मै बगाउँछु

आखाँबाट झरी रहोस् जाम तिम्रो सँधै भरी


२०६५।०३।१३




Thursday, June 19, 2008

खडेरीमा किसानलाई वर्षाको आस जस्तै तिमी

जीवन मृत्युको संघारमा प्यारो सास जस्तै तिमी


मन भित्रको भावना आफैसँग भन्न डर लाग्छ

मरुभूमीमा भर्खर पलाएको घाँस जस्तै तिमी


तिम्रो बोली मात्रै सुन्दा पनि त्यसै म लठ्ठ पर्छु

बसन्त बागमा फैलिएको मिठो सुवास जस्तै तिमी


आफैलाई धोका दिन्छन् यी मेरा मिठा कल्पनाहरु

शरदीय हावामा बहने उल्लास जस्तै तिमी


२०६५।०३।०५


Tuesday, June 3, 2008

तिम्रो याद मेट्न के-के मात्रै गरिन मैले

मन भित्रै रोएँ आँशु मात्रै झारिन मैले


चमक् चमक् विजुली तिम्रै अनुहार देख्छु

मेरो सबै लुट्यौ मुटु मात्रै हारिन मैले


जति टाढा भागेँ भन्छु त्यति नजिक पुग्छु

घृणा धेरै गरें माया मात्रै मारिन मैले


कोर्न छोडे पीडा भावना मार्न खोज्छु

लास बन्यो मुटु ढुङ्गा मात्रै पारिन मैले


२०६५।०२।२९


Saturday, February 23, 2008

तिम्रो आँखाले मलाई साच्चै मार्छ कि जस्तो छ

एक दिन दुनिँयाको गाल पार्छ कि जस्तो छ


मायाले भरिएका लोलाएका नशालु आँखा

लठ्याई मलाई मेरो सब चोर्छ कि जस्तो छ


सधैं मलाई बोलाइरहेका बैँशालु आँखा

नजरको वाणले सिद्धान्त हार्छ कि जस्तो छ


मेरो आँखासँग एकान्तमा जुद्धा तिम्रो आँखा

जाडोमा पनि खल् खल् पसिना झार्छ कि जस्तो छ

मेरो मन रुन्छ देखेर भिजेको तिम्रो आँखा

तिम्रो दु:ख पिडा मेरो तर्फ सार्छ कि जस्तो छ


२०६४।११।११


Friday, February 9, 2007

तिम्रो नै चर्चा सबै तिर सबैको आँखाको नानी तिमी

जतापनि सजिलै बग्न सक्ने खहरेको पानी तिमी


चंचल तिम्रो जवानी त्यो मेरो सोच भन्दा धेरै पर

सबैलाई माया बाँड्दै हिँड्ने असाध्यै ठूलो दानी तिमी


सबै कुरा थाहा छ तै पनि कस्तो दुविधा तिमीलाई

बुझेर पनि अबुझ झैं देखिने साह्रै नै ज्ञानी तिमी


एकान्तमा डसिरहेछन् टोलाएका ती नजर तिम्रा

तिम्रा दुई आँखा नशा झैं भयो, अब मेरो बानी तिमी


२०६३।१०।२६ 


Tuesday, January 9, 2007

अस्थिर मन, तिम्रो याद, यस्तै हाल प्यारो

बाटो आँखा, गन्तब्य मुटु, तिम्रो चाल प्यारो


मेरो संसार, तिमीमा सुरु, तिमीमा नै अन्त्य

तिमी बिना, पानी बिनाको माछा, जाल प्यारो


तिम्रो निर्दोषता, तिम्रो भावना, बिझ्यो मुटुमा

मेरो गल्ती, मेरो मौन्ता, सबैको गाल प्यारो


तिमीबाट टाढा, किन हुन खोज्छ, यो मन

चिसो रात, प्रेम पिडा, आशुँको ताल प्यारो


झरेको तारा तिमी, धर्तीमा नियाल्दै छु म

तिम्रो हाँसो, अव्यक्त खुशी, अब काल प्यारो


२०६३।०९।२५


Tuesday, November 7, 2006

आँखा भरी तिमी तै पनि याद आइ रहेछौ तिमी

कोशौं टाढा हुँदा पनि लाग्छ बोलाइ रहेछौ तिमी


हिजो जस्तै रहिन रे म, ऐना सधैँ भन्छ मलाई

तिमी नि जान्दछ्यौ मेरो निन्द्रा उडाइ रहेछौ तिमी


आगो झैं तिम्रो माया पनि साँचेर राखेँ यो मुटुमा

आज न्यानो चाहिँदा यै मुटु जलाइ रहेछौ तिमी


त्यो मुटुको कुना अझै नि झस्किन्छ मेरो नाम सुन्दा

किन ढाँट्छ्यौ? हर् साँझ मेरै गीत गाइ रहेछौ तिमी


२०६३।०७।२९