Monday, May 18, 2020

मैले बुझेको राष्ट्रियता

अल्बर्ट आइन्स्टाइनका अनुसार, "राष्ट्रियता एक शिशु रोगहो, मानवजातीको दादुरा ।" विश्वका कयौं देशहरुमा (जस्तै रुवान्डा, युगोस्लोभाकिया, नाजीको बेलाको जर्मनी, नेपोलियनको बेलाको फ्रान्स आदि )  गृह युद्धको मुख्य कारक राष्ट्रियता नै हो भन्ने गरिन्छ । त्यसतै राजनैतिक वैज्ञानिकहरुका अनुसार यो एउटा विकासन्मुख देशहरुलाई सँधै पछाडि पारिरहन र ती देशहरुमा भ्रष्टाचारजस्ता घातक तत्वको संरक्षण गर्न धर्म र जातियतासँगै प्रयोग भै रहेको सफल यन्त्र हो ।

कसैले सोच्न सक्छ, त्यसो भए राष्ट्रियता सँधै नकारात्मक मात्रै हुनु पर्छ त ? पक्कै पनि हुनु हुँदैन र सही मानेमा छैन पनि । यो एउटा व्यक्तिलाई परिवार, साथीभाइ र आफन्त भन्दा परका मानिसहरुसँग एकजुट भइ एकताको सुत्रमा बाँध्ने तत्व पनि हो । तर यहाँ नेर विचारणिय कुरा चाहिँ कति परका मानिसहरु भन्ने नै हो । सही अर्थमा राष्ट्रियता के हो त ? नर्वेमा आधारित अन्तराष्ट्रिय सामाजिक सर्भे कार्यक्रमका अनुसार राष्ट्रियता मापन गर्न सजिलो छ रे । केवल एक प्रश्नको उत्तर, "तपाईंलाई आफ्नो राष्ट्र अरु राष्ट्र भन्दा उत्कृष्ट लाग्छ ?" बाट कुनै पनि राष्ट्रमा बसोबास गर्ने मानिसहरुको आफ्नो राष्ट्र प्रतिको राष्ट्रियता झल्किन्छ रे । यदि बहुसांखिक मानिसहरुले लाग्छ उत्तर दिएमा त्यो राष्ट्रका मानिसहरुमा राष्ट्रयताको भाव धेरै छ भन्ने बुझाउँछ रे । तर यो प्रणालीबाट नेपालजस्तो अल्प विकसित मुलुकमा राष्ट्रियता कम छ र संयुक्त अधिराज्य अमेरिका, अष्ट्रेलिया, र अधिकांश यूरोपियन मुलुकहरुमा राष्ट्रियता धेरै छ भनेर स्वत देखाउँछ । त्यसो भए नेपाल जस्तो मुलुकमा राष्ट्रियता साँच्चिकै कमि छ त ? उत्तर स्पस्ट छैन ।

राष्ट्रियता ब्याप्त मुलुकहरुमा त्यहाँका मानिसहरुमा (जनता र नेता दुवैमा) केहि स्वत: स्फूर्त गुणहरु देखिनु पर्छ । जस्तै: म भ्रष्टाचार गर्दिन । म सार्वजानिक सम्पत्तीको संरक्षण गर्छु । म मेरा छिमेकीहरुलाई पनि सम्मानीय व्यवहार गर्छु । म मेरो सरकारले गरेको राम्रो कामको समर्थन अनि नराम्रो कामको विरोध भद्र रुपमा गर्छु । आदि । यदि तपाईंमा यी सोच छ अनि तपाईं त्यसलाई पूर्णरुपमा पालन गर्न कटिबद्ध हुनुहुन्छ भने पक्कै पनि तपाईं जस्तो राष्ट्रियता भरिएको मानिस अरु छैन । तर याद राखौं राष्ट्रियताको भावना भूगोलको परिधीमा बसेर धर्म र जातियताको लेप लगाएर राष्ट्रको नाम जपेर कदापी आउँदैन । लिपुलेकको विषयमा भारतलाई गाली गर्दै सामाजिक सञ्जालको भित्ता रङ्गाउँदैमा मात्रै राष्ट्रियता भरिएको मान्नु भ्रम हो । आर्थर गनले नेपाली नाम र पासपोर्ट (?) त्यागि सक्यो अब यसको समर्थन गर्नुहुँदैन भन्ने भाव पनि राष्ट्रियता होइन । डिभी एक पटक पनि नभर्ने वा पटक पटक भरेर नपर्ने तपाईं राष्ट्र प्रेमी अनि डिभी परेर अमेरिका उड्ने राष्ट्रद्रोही कसरी हुन सक्छ ? एक विदेशीले कपाल खौरेर टुपी देखाउँदै गेरु वस्त्र लगाउँदै आफ्नो नाम परिवर्तन गरेर फलानो बाबा भन्दै भजन गाउँदा गर्व लाग्ने अनि नेपालमा जन्मेको एउटा केटोले गितार बजाएर अङ्ग्रेजी नाम राखेर अङ्ग्रेजी गीत गाउँदा नेपाललाई हेप्यो भन्ने धारणा पाल्नु कति सही हो या गलत ? यो प्रश्न आफैलाई गर्नु होला । 

त्यस्तै लिपुलेक, लिम्पुधारा, कालापानी जस्ता भूभाग नेपालको भूमी यदि हो भने ती भूभागलाई हामी स्कूल पढ्दा देखि नै हाम्रो पाठ्यपुस्तकबाट कसरी हटाइयो ? कुनै एउटा सार्वभौम सम्पन्न मुलुकको भूभाग कसैले कब्जा गर्नु कसैलाई पनि स्विकार्य हुनु हुँदैन । तर यो भाव कसैमा जागृत हुनु के राष्ट्रियताको उपज हुन जरुरी छ त ? यो भाव त एउटा मानव भएको नाताले सत्य माथिको विश्वासको भाव हुनु पर्ने होइन र ? भोली अफ्रिकाको कुनै एउटा मुलुकले अर्को मुलुकको भूभाग यसरी नै कब्जा गर्न खोज्यो भने पनि यहि भाव हामीमा आउन सक्नुपर्छ । साथै गौतम बुद्ध नेपालमा जन्मेका हुन्, सगरमाथा हाम्रो देशमा पर्छ वा आर्थर गन, सन्दिप लामिछाने नेपाली हुन् (हामी स्कूल पढ्दा यो लिस्टमा केवल दुई नाम हुन्थ्यो, उदित नारायण र मनिसा कोइराला) जस्ता फुस्रो अभिमानको पनि कुनै अर्थ छैन । खुशी लाग्नु वा दु:ख लाग्नु व्यक्तिगत भावना हो, यसमा केही गुनासो वा विरोध हुनुहुँदैन तर ती खुशी, दु:ख वा अझ खुचिङ्गका भावहरुलाई राष्ट्रियतासँग जोड्न जरुरी छैन । अमेरिका सहित विश्वमा कोरोना जस्तो माहामारीले लाखौं मानिस मर्दा त्यति नै दु:ख मान्न सक्नुपर्छ जति अफगानिस्तानमा सुत्केरी र भर्खर जन्मेका बालक माथी बम प्रहार हुँदा लागेको थियो । अन्तमा तीनवटा कुराहरु जसले मैले अहिले देखेको राष्ट्रियता (दुइटा धर्मसँगपनि सम्बन्धित छ ) लाई प्रतिनिधित्व गर्छ, यहाँ राखेर बिट मार्न चाहन्छु । 

१. केहि वर्ष अघि नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको एक मात्र रन वे विग्रिएर केहि दिन नेपालमा अन्तराष्ट्रिय उडान हुन नसक्दा कसैले ट्विटरमा ट्विट गरेका थिए , एक विदेशीले अचम्मित हुँदै एउटा नेपालीलाई सोधेछ, "तिम्रो देशमा एउटामात्रै रन वे छ? " विचरा त्यो नेपालीले एक छिन सोचेर भनेछ ,"गौतम बुद्ध नेपालमा जन्मेका हुन् अनि सगरमाथा नेपालमा पर्छ " ।

२. केही दिन अघि भारतमा एक सांसदले बोलेको कुरा सामाजिक सञ्जालमा पढ्को थिएँ । "भारतमा मुस्लिम छन् र हामी हिन्दु छौं । यदि भारतमा मुस्लिम नहुने हो भने हामी कोहि हिन्दु बाँकि रहँदैनौं । हामी केवल ब्राहमण, क्षेत्री, वैश्य, शुद्र र दलित मात्रै रहन्छौं । "

३. अरुणधती रोयले आफ्नो उपन्यास, "द मिनिस्ट्रि अफ अटमस्ट ह्यापिनेस" मा कतै कुनै प्रसँगमा लेखेकि छिन् :

मैले एउटा मानिसलाई पुलबाट हाम फाल्न लागेको देखें । 

मैले भनें,"त्यस्तो नगर !"

उसले भन्यो,"मलाई कसैले माया गर्दैन ।"

मैले भनें,"भगवानले तिमीलाई माया गर्नु हुन्छ। के तिमी भगवानमा विश्वास गर्छौ ?"

उसले भन्यो, "गर्छु । "

मैले भनें, " के तिमी मुसलमान हौ कि गैर मुसलमान?"

उसले भन्यो, "मुसलमान। "

मैले भनें, " सिया कि सुन्नी ?"

उसले भन्यो, " सुन्नी । "

मैले भनें, " म पनि!! दियोबन्दी कि बरेल्भी ?"

उसले भन्यो, " बरेल्भी । "

मैले भनें, " म पनि!! तान्जेही कि ताफ्केरी ?"

उसले भन्यो, " तान्जेही । "

मैले भनें, " म पनि!! तान्जेही अजमाती कि तान्जेही फरहाती ?'

उसले भन्यो, " तान्जेही फरहाती । "

मैले भनें, " म पनि!! तान्जेही फरहाती जमैया उल उलुम अजमेर कि तान्जेही फरहाती जमैया उल नुर मेवात ?"

उसले भन्यो, " तान्जेही फरहाती जमैया उल नुर मेवात। "

मैले भनें, " मर काफिर!" अनि मैले नै उसलाई धकेलिदिएँ ।


२०७७।०२।०२


Friday, August 17, 2018

INGO को कार्यशालाबाट


बन्द कोठामा तिम्रो भविष्य केलाउँदै छु
चिसो एसीमा पहेँला बत्तीमुनी बसेर
टेबलका कोठा भर्दै, ग्राफका धर्साहरुसँग
तिम्रो भाग्यका धर्साहरु दाँजदै छु,
तिमी पर कतै घामको रापसँगै वा वर्षाको धारसँगै
खेतबारीमा कुटो कोदालो चलाउँदै हौली,
तिम्रो बुढा सासुससुरा पिढिँको डिलमा बसेर
पर क्षितिज भरि आँखा छर्दै होलान्,
तिम्रो पति अरबमा रगत पसिनासँग
सुन्दर भविष्यको सपना बुन्दै होलान्,
तिमी जब तिम्रो सानी छोरीको आँखामा नियालेर हेर्छ्यौतिमी के देख्छ्यौ ?
के तिमी उसको भोलीमा मेरो आज देख्छ्यौ ?
के तिमीलाई लाग्छ मैले आज यो कोठामा बिताएका मेरा पलहरु
खोक्रो हुनेगरी खर्चिएको मेरो दिमागले
तिम्रो भोली सुन्दर हुनेछ ?
कल्पना गर्छु,
एउटा जस्तै कोहि झोला बोकेर तिम्रो घरमा आउँदा हुन्
तिमीलाई पानी उमालेर पिउने देखि चर्पीको प्रयोगगर्ने सम्म
महिनावारी हुदाँको व्यथा देखि तिम्रो आवाज अनि कथा सम्मका
कुरा गर्दाहुन्,
तिमी कहिले लजाउँदै, कहिले टोलाउँदै, मुन्टो हल्लाउँदै, हुन्छ भन्दै हुन्छौ होली
कहिले आफ्नो आवाज कतै भेला सभामा राख्दै हुन्छौ होली
आवाज राख्दै गरेको तिमीलाई सम्झेरै खुशी हुन्छु
तिम्रो घरमा पानीको धारा झर्यो रे भन्दा नै तृप्त हुन्छु
तर,
के तिमी त्यती बेला आज भन्दा फरक हुन्छ्यौ ?
के तिम्री छोरी फ्नो सपनाको उडान् उड्दै गरेकी हुन्छे ?
के तिमी तिम्रो पतिका काला रातहरु रंगीन भएका हुन्छन् ?
कुनै दिन यी उत्तर खोज्दै आउने छु,
मलाई डर तिम्रो भोलीसँग
अनि आफ्नो आज सँग ।।

Monday, September 26, 2016

दशैं

लिङ्गे पिङ्गमा चाचाहुँइ सररर भन्दा पो दशैं आउँथ्यो
धानको बालासँगै मन लहलह झुल्दा पो दशैं आउँथ्यो

दुई मै’ना अघि देखि हर दिन, दिन गन्नुको मजा बेग्लै
चङ्गा जस्तै आकास भरी फररर उड्दा पो दशैं आउँथ्यो

हावामा सुभाष छाउँथ्यो, माटोको पनि छुट्टै महक हुन्थ्यो
करेसा भरी सयपत्री ढकमक्क फुल्दा पो दशैं आउँथ्यो

बजार भरी दशैं रोज्दै, भिड बिच आफ्नो पहिचान खोज्दै
नयाँ लुगा अनि जुत्तासँगै गमक्क पर्दा पो दशैं आउँथ्यो

२०७३।०६।१०

Saturday, September 10, 2016

कर्णाली, चामल र नियती


केहि वर्ष अघि कर्णाली घुम्ने अवसर जुरेको थियो । जलवायु परिवर्तन सम्बन्धि एउटा कार्यको लागि मुगु जाने अवसर पाउँदा वर्षौ देखि रारा ताल जाने सपना पालेको मन त्यसै पुलकित भएको थियो । करिब ६ वर्ष अघिको त्यो यात्रालाई आज अचानक सम्झने मेसो जुराइ दियो प्रधानमन्त्री पुष्पकमल दाहालको कर्णाली वासीको लागि जन्म तथा मृत्यूमा २० किलो चामल उपहार दिने निर्णयले ।

सानोमा सामन्यज्ञानमा पढेका थियौं संसारको सबैभन्दा उच्च स्थानमा धान फल्ने भनेको समुद्री सतहबाट करिब ३००० मि उचाइमा रहेको जुम्लाको छुम्जुल क्षेत्रमा हाे । मार्सी चामलको भात पहिलो पटक खाँदा जिरा मसिनोको भात भन्दा मिठो लागेको थियो । तर यो भनी रहँदा कर्णालीमा चामलको दुःख छैन र कर्णाली वासीले मार्सी चामलकै भात खानु पर्छ भन्ने आशय भने पक्कै होइन । अर्नेष्ट हेमिंगवेको एउटा बहुचर्चित भनाइ छ, "तिमी तिम्रो छोरालाई माछा देऊ उसले आज खान पाउँछ तर उसलाई माछा मार्ने कला सिकाउ उसले सधैं खान पाउँछ ।"

कर्णालीमा चामलको दुःख पक्कै हाेला तर कणार्ली भोकै बस्नु पर्ने अवश्थामा भने पक्कै छैन । स्थानीय तहमा उत्पादन हुने गहुँ, फापर, कोदो, उवा, सिमी आदीले कर्णालीको भोक मार्न सक्छ । कृषीमा आधुनिकता सँगै उचित बजार व्यवस्थापन तथा जंगली जडिबुटी र प्राकृतिक सम्पदाकाे उपयाेग गर्ने वातावरणाकाे निर्माणा गर्न छोडेर हाम्रा प्रमले जुन २० किलो चामल बाँड्ने निर्णय गर्नु भयो त्यसले क्षणिक लोकप्रियता त अवस्य कमाउँला तर कर्णाली वासीको दिर्घकालीन हित कदापी गर्न सक्दैन । मुगुमा छँदा एक स्थानीय वृद्धले भन्थे, मुगुमा हरेक गैससं र सरकारले लगानी गरेको पैसा एकमुष्ट हरेक मुगुवासीलाई भाग लाउने हो भने हरेकको भागमा काठमाडौंमा घडेरी किन्ने पैसा हात पर्छ रे। 

कर्णाली अहिले यती परनिर्भर भएको छ कि गाउँगाउँमा टोलटोलमा हरेकको गफ गर्ने विषय भनेको कुन गैससंले के को लागी कति पैसा ल्याउँदैछ भन्नेमा सिमित हुन पुगेको छ । कर्णालीका जिल्ला सदरमुकामहरुमा चामल नपाइन सक्छ तर हरेक होटलहरुमा महँगा रक्सीहरु सजाएर राखेको देख्न सक्नुहुन्छ । मैले आफैले देखेको कर्णालीमा मानिसहरु खाद्य संस्थानमा दिन भरी लाइन लागेर ल्याएको सित्तै वा सहुलियत दरको चामलको महँगो दाममा विक्छ भनेर रक्सी बनाएर बेचि रहेका थिए अनि साँझमा प्रिय कोदो वा गहुँको रोटा खाएर सुत्थे ।

एउटा रमाइलो घटना याद आउँछ । म पुगेको मुगुको दुर्गम जिमा गा. वि. स मा एउटा गैससंले एक साल धेरै थरी तरकारीको विऊ बाडेछ अनि लाखौं खर्चेर तिनलाई तरकारी उत्पादनको तालिम पनि दिएछ । त्यो साल सबैको भान्छामा मिठा मिठा तरकारी पाके, नयाँ नयाँ पकवान बने । तर अर्कोसाल कसैले पनि फेरी तरकारी लाएनन् । कारण साधारण थियो, सबैको एउटै उत्तर, त्यो फलानो गैससंले अर्को साल न विऊ दियो न भत्ता सहितको तालीम । विऊ आफै राखेर किन अर्को वर्ष नरोपेको भन्ने मेरो जिज्ञासामा जवाफ आयो, त्यो संस्थाको लागि हामी किन विऊ राख्ने ? दियो भने रोप्ने हो नदिए तरकारी नखाने हो । घरमा त्यसरी नै सित्तैमा आएको सोलार बत्तीको जलेको चिम फेर्नुको साटो टुकी नै बाल्न रुचाउने अनि सोलार विग्रीयो भन्दै अर्को गैससं चाहर्दा नयाँ सोलार प्रणाली नै जडान गर्दिने गैससंहरुको अनौठो मिलन छ कर्णालीमा ।

अनि फेरी सरकारले दिन लागेको जन्म मृत्यूमा २० किलो चामलको नियती सम्झन पुग्छु । त्यो जन्मेको नवजात शिशुको भविष्यको बारेमा सोच्छु, त्यो खरानी भएको शरीरले भोगेको जिन्दगीको कल्पना गर्छु । कठै सरकार, तिमी २० किलो चामल दिएर कर्णालीलाई अर्को २० वर्ष पछाडि किन धकेल्दै छौ ??

Friday, March 11, 2016

गजल

सम्झना तिम्रो याद बनी आँशु सँगै झर्छ किन ?
तिमीलाई छोई हावा म तिर बग्ने गर्छ किन ?
बिछोडमा आगो सरी कसको पो जल्दैन मुटु ?
जानी सत्य यो फेरि हर पल आफै मर्छ किन ?
समयको राज्यमा धड्कनको भाषा कसले बुझ्छ र ?
हर धड्कनमा नाम त्यो आत्मा भरी सर्छ किन ?

हिजो भन्दा आज धेरै, माया यसरी बढ्छ किन ?
माया बढ्न दुई मुटु यो टाढा हुन पर्छ किन ?

Tuesday, February 16, 2016

ब्रजेश खनालको जुनेली पढेपछि........

ब्रजेश खनालको ट्विटर एकाउण्टबाट जुनेलीको लोकार्पणको बारेमा थाहा पाए पछि कार्यक्रममा जान मन लागेको थियो । उसो त फिरफिरेको लोकार्पणमा पनि जान मन थियो तर प्राथमिकतामा त्यो दिन अरु नै कार्य पर्न आयो र जान पाइएन । जुनेलीको लोकार्पणमा भने अर्को एउटा महत्वपूर्ण कार्य भ्याएर करिब ४५ मिनेट ढिला भए पनि पुग्न चाहिँ पुगें । म पुग्दा नयनराज पाण्डे बोलि रहेका थिए स्टेजमा । उनले उपन्यासको तारिफ नै गरिरहेका थिए । जुनेली यायावरको सिक्वल भएको र यस्तो प्रयोग नयाँ भएको भन्दै जुनेलीको खुलेरै प्रशंसा गरेका थिए । त्यस्तै रविन्द्र मिश्रले पनि यसमा वर्णन गरिएका ससाना कुराले मन छोएको भन्दै उपन्यासको आफूलाई मन परेको केहि लाइन बाचन पनि गरेका थिए । मैले पनि सोहि दिन लाइन बसेर सो दिनको लागि विशेष मुल्य रु ३०० मा किनेर ब्रजेश खनाललाई सहि गराएर जुनेलीलाई घरमा भित्राएको हुँ । मलाई त्यसरी पहिलो पटक लाइन लागेर लेखकको हस्ताक्षर गरेको किताब लिदाँ साह्रै आनन्द लागेको थियो ।

अनि आज जीवनमा नै पहिलो पल्ट आफूले पढेको पुस्तकको साह्रै छोटो समिक्षा लेख्दैछु । यो किताब पढेपछि मनमा आएका भावहरुलाई इमान्दार भइ समेट्ने प्रयास हो यो मेरो । यदि तिमी लेखक बन्न चाहन्छौ भने लेख रे । लेख्नु आफैमा साह्रै गाह्रो काम हो । झन् आख्यानमा कलम चलाउनु चानचुने काम पक्कै होइन र यो जो पायो त्यसले गर्न सक्ने कार्य पनि होइन । यस्तो गाह्रो र अवजसिलो कार्य दुई दुई पटक गर्ने आँट गर्नु भएकोमा ब्रजेश खनाललाई बधाइ ।

मैले यायावर पनि पढेको थिएँ । अहिले खासै धेरै कुरा नसम्झिएपनि त्यो अनौठो विवाहित भर्जिन म्यानको कथा मलाई नौलो लागेको थियो अनि अलि अलि पिmल्मी भए पनि रमाइलो लागेको थियो । यायावर नामलाई पुरै जस्टिफाइ नगरे जस्ताे लागे पनि त्यसको कथा लाइन नै मलाई मन परेको थियो ।

ब्रजेश खनालको नयाँ उपन्यासको नाम जुनेली भन्ने थाहा पाए पछि त्यो यायावरकै जुनेलीको कथा हो जस्तो पहिला नै लागेको थियो । नयनराज पाण्डेले भने झैं यो यायावरको सिक्वल जस्तो नलागे पनि त्यहि जुनेलीको कथा रहेछ । तर यो पटक यसमा चिराग, सोपालिका र कमल जस्ता केहि नौलो पात्रहरु छन् र आधा उपन्यास जुनेली भन्दा पनि यिनकै वरीपरी घुमेका छन् । यी पात्रहरुको कथा अनि यिनको भावना समेट्न लेखक सफल देखिएका छन् । चिरागको रुपमा कथा वाचन प्रभावकारी र यर्थाथ नै अनुभव हुन्छ । तर जब जुनेलीले यायावरमा भनिएको बैकुण्ठको भर्सनको कथा (जुनेलीकाे कथा) लाई आफ्नो भर्सनमा भन्न थाल्छे विस्तारै उपन्यास र लेखक दुवै ओरालो झर्न थालेको महशुश हुन्छ ।

जुनेली जब आफ्नो जीवनको वर्णन गर्न थाल्छे सबै भन्दा पहिला त उसको बोली अनि कुरा असहज लाग्दै जान्छन् । काहिँ साह्रै दार्शनिक जस्तो कुरा गर्छे अनि काहिँ गाउँले परिवेशमा हुर्केकी परम्परागत सोच उसमा देखा पर्छ । काहिँ जुनेली क्रान्तिकारी जस्तै देखा पर्छे त काहिँ लाचार निमुखो बन्दिन्छे । जुनेलीमा मात्र होइन यो गुण काहिँ काहिँ उसको आमामा  र बाबुमा पनि देखापर्छ । यो पात्रको चरित्रकाे विविधता साह्रै असहज महशुश हुन्छ । यति हुँदा हुँदै पनि पाठकलाई यी विविधता मान्छेमा सम्भव छ कि त जस्तो सोच्न बाध्य बनाउनु चाहिँ यो उपन्यासको सुन्दर पक्ष हो।

यो उपन्यासको अर्को महत्वपूर्ण पाटो भनेको यसको कथा लेखनलाई लिएको छु । पुस्तक लोकार्पण कार्यक्रममा भनिए झै सरल भाषामा यो उपन्यास पक्कै लेखिएको छ तर पनि यसको मूल कथा लेखन चाहिँ मलाई यायावर भन्दा फितलो लागेको छ । बैकुण्ठको रुपमा र यहि उपन्यासको चिरागको रुपमा लेखक जति सफल छन् त्यति नै असफल जुनेलीको रुपमा देखिएका छन् । नारी संवेदनालाई जबरजस्ती बुझ्ने प्रयास केहि ठाउँमा गरेका भएपनि यसमा लेखक त्यति सफल देखिँदैनन् । अर्को साह्रै खड्केको कुरा चाहिँ लेखक प्रि अकुपाइड भएर लेखेका हुन कि जस्तो भान हुन्छ विशेष गरी जुनेलीको हकमा । यायावरमा भेटेको जुनेलीलाई सुन पानी लगाएर चोख्याउन खोजेको जस्तो अनुभुती हुन्छ । बरु सोपालिकाको कथा भन्दा चाहिँ लेखक मिठो पनि सुनिएका छन् अनि सहज पनि देखिन्छन् । तर सोपालिकाको र उनको पति शरद विचको अन्तरगंको वर्णन किन जरुरी थियो त्यो चाहिँ मैले बुझ्न नसकेको कुरा हो ।

उपन्यासको केहि ठाउँमा सामन्य त्रुटि भेटिएका छन् । यायावरमा पनि यस्ता त्रुटि भेटिएका थिए । यस्ता त्रुटिलाई कति हलुका रुपमा लिन सकिन्छ त्यो बहसको विषय बन्न सक्छ तर राम्रो किताब बन्नको लागि यस्ता केयरलेस त्रुटि चाहिँ निश्चय पनि हटाउनु पर्छ जस्तो लाग्छ । यी सामन्य त्रुटि ध्यान दिएर पढ्ने सबैले सहजै औंलाउन सक्ने हुनाले त्यसको चर्चा यहाँ गर्न जरुरी लागेको छैन ।

समग्रमा भन्दा यो उपन्यास मलाई लेखकको पहिलो उपन्यास भन्दा कमजोर लागेको छ । विशेष गरी जुनेलीले आफ्नो कथा वर्णन सुरु गरे पछि यो उपन्यासको चमक घट्दै गएको महशुश हुन्छ । पहिलो हाफ सम्म साह्रै राम्रो लागेको तर दोस्रो हाफमा र अन्तमा निराश बनाउने निकै चर्चा र आशा  गरिएको चलचित्र जस्तो हुन पुगेको छ जुनेली । चिराग र सोपालिका पात्र जति सफल छ त्यसको तुलनामा जुनेली पात्र त्यति नै असफल छ । नेपाली साहित्यको राम्रो कृतिको रुपमा गणनामा नआए पनि यसको नौलो कथावस्तु र प्रयोगले यसलाई पठनिय चाहिँ अवश्य बनाएको छ । यहि उपन्यासमा लेखकको जुनेली "५० औं" कृति भनिए पनि मलाई चाहिँ ब्रजेश खनालको "५० औं" कृति अझैं आउन बाकिँ छ जस्तो लागेको छ र यसको लागि उनलाई अग्रिम शुभकामना ।

कर्मठ सुवेदी
२०७२ । ११ । ४

Tuesday, January 26, 2016


मृत्युदण्ड र कविता

मलाई मृत्युदण्डसँग डर लाग्छ
मैले "एउटा बुढो बकाइनोको रुख" मा
झुण्डिएको लाशको कथा पढेको छु
मैले कञ्चटमा विजुलीको झट्का दिएर
मृत्युदण्ड दिएको दृश्य पर्दामा नै भएपनि हेरेको छु
घुँडा टेकाएर पछाडिबाट गोली हानी पनि
मृत्युदण्ड दिइन्छ अनि
सुकरातलाई झैं प्यालामा विष पनि पिलाइन्छ
भन्ने पनि मलाई थाहा छ,
म जीवनलाई माया गर्ने मान्छे
म एउटा आम मान्छे
त्यसैले मलाई मृत्युदण्डसँग डर लाग्छ ।
म यस्तो कविता लेख्न सक्दिन
जस्ले शासकको मन मस्तिष्क हल्लाइ दियोस्
अनि कविता लेखेकै भरमा मृत्युदण्ड सुनाइयोस् ।
मेरो देशका शाशक पनि शोषण गर्छन्
मेरो देशमा पनि असमानताका खाडल छन्
मेरो देश पनि त्यस्तो कविता चाहन्छ
तर म एउटा मृत्युदण्डसँग डराउने आम मान्छे
म जस्तै आम मान्छेले बनेको मेरो देश
यहाँ मृत्युदण्ड जित्ने कविता लेखिन्न
यहाँका कवि म जस्तै मृत्युदण्डसँग डराउँछन्
यहाँ केवल चाप्रुसीका कविता लेखिन्छन् ।।

कर्मठ सुवेदी

२०७२ । १० । १३