Friday, February 9, 2007

तिम्रो नै चर्चा सबै तिर सबैको आँखाको नानी तिमी

जतापनि सजिलै बग्न सक्ने खहरेको पानी तिमी


चंचल तिम्रो जवानी त्यो मेरो सोच भन्दा धेरै पर

सबैलाई माया बाँड्दै हिँड्ने असाध्यै ठूलो दानी तिमी


सबै कुरा थाहा छ तै पनि कस्तो दुविधा तिमीलाई

बुझेर पनि अबुझ झैं देखिने साह्रै नै ज्ञानी तिमी


एकान्तमा डसिरहेछन् टोलाएका ती नजर तिम्रा

तिम्रा दुई आँखा नशा झैं भयो, अब मेरो बानी तिमी


२०६३।१०।२६ 


Tuesday, January 9, 2007

अस्थिर मन, तिम्रो याद, यस्तै हाल प्यारो

बाटो आँखा, गन्तब्य मुटु, तिम्रो चाल प्यारो


मेरो संसार, तिमीमा सुरु, तिमीमा नै अन्त्य

तिमी बिना, पानी बिनाको माछा, जाल प्यारो


तिम्रो निर्दोषता, तिम्रो भावना, बिझ्यो मुटुमा

मेरो गल्ती, मेरो मौन्ता, सबैको गाल प्यारो


तिमीबाट टाढा, किन हुन खोज्छ, यो मन

चिसो रात, प्रेम पिडा, आशुँको ताल प्यारो


झरेको तारा तिमी, धर्तीमा नियाल्दै छु म

तिम्रो हाँसो, अव्यक्त खुशी, अब काल प्यारो


२०६३।०९।२५


Tuesday, November 7, 2006

आँखा भरी तिमी तै पनि याद आइ रहेछौ तिमी

कोशौं टाढा हुँदा पनि लाग्छ बोलाइ रहेछौ तिमी


हिजो जस्तै रहिन रे म, ऐना सधैँ भन्छ मलाई

तिमी नि जान्दछ्यौ मेरो निन्द्रा उडाइ रहेछौ तिमी


आगो झैं तिम्रो माया पनि साँचेर राखेँ यो मुटुमा

आज न्यानो चाहिँदा यै मुटु जलाइ रहेछौ तिमी


त्यो मुटुको कुना अझै नि झस्किन्छ मेरो नाम सुन्दा

किन ढाँट्छ्यौ? हर् साँझ मेरै गीत गाइ रहेछौ तिमी


२०६३।०७।२९


Tuesday, July 18, 2006

प्रकृति र तिमी दुवै उस्तै हरियो झैं लाग्छ

तिम्रो आवाज नसुन्दा किन मरियो झैं लाग्छ


हरेक साँझ चिसो बतासले यो मुटु छुँदा

आफ्नै मन यो छोडेर डेरा सरियो झैं लाग्छ


सम्हाली राखेको मेरो जवानीको घैंटो अब

तिमीलाई देखेपछि फुटी छरियो झैं लाग्छ


पंक्षी झैं आकाशमा सधैं उडी रहने मन

एकै दृश्टिले तिम्रो धर्तीमा झरियो झैं लाग्छ


कसैको वास्ता थिएन आँधी झैं जीवन थियो

तिम्रो साथले अब कर्मठ फेरियो झैं लाग्छ

२०६३।०४।०२