Friday, March 11, 2016

गजल

सम्झना तिम्रो याद बनी आँशु सँगै झर्छ किन ?
तिमीलाई छोई हावा म तिर बग्ने गर्छ किन ?
बिछोडमा आगो सरी कसको पो जल्दैन मुटु ?
जानी सत्य यो फेरि हर पल आफै मर्छ किन ?
समयको राज्यमा धड्कनको भाषा कसले बुझ्छ र ?
हर धड्कनमा नाम त्यो आत्मा भरी सर्छ किन ?

हिजो भन्दा आज धेरै, माया यसरी बढ्छ किन ?
माया बढ्न दुई मुटु यो टाढा हुन पर्छ किन ?

Tuesday, February 16, 2016

ब्रजेश खनालको जुनेली पढेपछि........

ब्रजेश खनालको ट्विटर एकाउण्टबाट जुनेलीको लोकार्पणको बारेमा थाहा पाए पछि कार्यक्रममा जान मन लागेको थियो । उसो त फिरफिरेको लोकार्पणमा पनि जान मन थियो तर प्राथमिकतामा त्यो दिन अरु नै कार्य पर्न आयो र जान पाइएन । जुनेलीको लोकार्पणमा भने अर्को एउटा महत्वपूर्ण कार्य भ्याएर करिब ४५ मिनेट ढिला भए पनि पुग्न चाहिँ पुगें । म पुग्दा नयनराज पाण्डे बोलि रहेका थिए स्टेजमा । उनले उपन्यासको तारिफ नै गरिरहेका थिए । जुनेली यायावरको सिक्वल भएको र यस्तो प्रयोग नयाँ भएको भन्दै जुनेलीको खुलेरै प्रशंसा गरेका थिए । त्यस्तै रविन्द्र मिश्रले पनि यसमा वर्णन गरिएका ससाना कुराले मन छोएको भन्दै उपन्यासको आफूलाई मन परेको केहि लाइन बाचन पनि गरेका थिए । मैले पनि सोहि दिन लाइन बसेर सो दिनको लागि विशेष मुल्य रु ३०० मा किनेर ब्रजेश खनाललाई सहि गराएर जुनेलीलाई घरमा भित्राएको हुँ । मलाई त्यसरी पहिलो पटक लाइन लागेर लेखकको हस्ताक्षर गरेको किताब लिदाँ साह्रै आनन्द लागेको थियो ।

अनि आज जीवनमा नै पहिलो पल्ट आफूले पढेको पुस्तकको साह्रै छोटो समिक्षा लेख्दैछु । यो किताब पढेपछि मनमा आएका भावहरुलाई इमान्दार भइ समेट्ने प्रयास हो यो मेरो । यदि तिमी लेखक बन्न चाहन्छौ भने लेख रे । लेख्नु आफैमा साह्रै गाह्रो काम हो । झन् आख्यानमा कलम चलाउनु चानचुने काम पक्कै होइन र यो जो पायो त्यसले गर्न सक्ने कार्य पनि होइन । यस्तो गाह्रो र अवजसिलो कार्य दुई दुई पटक गर्ने आँट गर्नु भएकोमा ब्रजेश खनाललाई बधाइ ।

मैले यायावर पनि पढेको थिएँ । अहिले खासै धेरै कुरा नसम्झिएपनि त्यो अनौठो विवाहित भर्जिन म्यानको कथा मलाई नौलो लागेको थियो अनि अलि अलि पिmल्मी भए पनि रमाइलो लागेको थियो । यायावर नामलाई पुरै जस्टिफाइ नगरे जस्ताे लागे पनि त्यसको कथा लाइन नै मलाई मन परेको थियो ।

ब्रजेश खनालको नयाँ उपन्यासको नाम जुनेली भन्ने थाहा पाए पछि त्यो यायावरकै जुनेलीको कथा हो जस्तो पहिला नै लागेको थियो । नयनराज पाण्डेले भने झैं यो यायावरको सिक्वल जस्तो नलागे पनि त्यहि जुनेलीको कथा रहेछ । तर यो पटक यसमा चिराग, सोपालिका र कमल जस्ता केहि नौलो पात्रहरु छन् र आधा उपन्यास जुनेली भन्दा पनि यिनकै वरीपरी घुमेका छन् । यी पात्रहरुको कथा अनि यिनको भावना समेट्न लेखक सफल देखिएका छन् । चिरागको रुपमा कथा वाचन प्रभावकारी र यर्थाथ नै अनुभव हुन्छ । तर जब जुनेलीले यायावरमा भनिएको बैकुण्ठको भर्सनको कथा (जुनेलीकाे कथा) लाई आफ्नो भर्सनमा भन्न थाल्छे विस्तारै उपन्यास र लेखक दुवै ओरालो झर्न थालेको महशुश हुन्छ ।

जुनेली जब आफ्नो जीवनको वर्णन गर्न थाल्छे सबै भन्दा पहिला त उसको बोली अनि कुरा असहज लाग्दै जान्छन् । काहिँ साह्रै दार्शनिक जस्तो कुरा गर्छे अनि काहिँ गाउँले परिवेशमा हुर्केकी परम्परागत सोच उसमा देखा पर्छ । काहिँ जुनेली क्रान्तिकारी जस्तै देखा पर्छे त काहिँ लाचार निमुखो बन्दिन्छे । जुनेलीमा मात्र होइन यो गुण काहिँ काहिँ उसको आमामा  र बाबुमा पनि देखापर्छ । यो पात्रको चरित्रकाे विविधता साह्रै असहज महशुश हुन्छ । यति हुँदा हुँदै पनि पाठकलाई यी विविधता मान्छेमा सम्भव छ कि त जस्तो सोच्न बाध्य बनाउनु चाहिँ यो उपन्यासको सुन्दर पक्ष हो।

यो उपन्यासको अर्को महत्वपूर्ण पाटो भनेको यसको कथा लेखनलाई लिएको छु । पुस्तक लोकार्पण कार्यक्रममा भनिए झै सरल भाषामा यो उपन्यास पक्कै लेखिएको छ तर पनि यसको मूल कथा लेखन चाहिँ मलाई यायावर भन्दा फितलो लागेको छ । बैकुण्ठको रुपमा र यहि उपन्यासको चिरागको रुपमा लेखक जति सफल छन् त्यति नै असफल जुनेलीको रुपमा देखिएका छन् । नारी संवेदनालाई जबरजस्ती बुझ्ने प्रयास केहि ठाउँमा गरेका भएपनि यसमा लेखक त्यति सफल देखिँदैनन् । अर्को साह्रै खड्केको कुरा चाहिँ लेखक प्रि अकुपाइड भएर लेखेका हुन कि जस्तो भान हुन्छ विशेष गरी जुनेलीको हकमा । यायावरमा भेटेको जुनेलीलाई सुन पानी लगाएर चोख्याउन खोजेको जस्तो अनुभुती हुन्छ । बरु सोपालिकाको कथा भन्दा चाहिँ लेखक मिठो पनि सुनिएका छन् अनि सहज पनि देखिन्छन् । तर सोपालिकाको र उनको पति शरद विचको अन्तरगंको वर्णन किन जरुरी थियो त्यो चाहिँ मैले बुझ्न नसकेको कुरा हो ।

उपन्यासको केहि ठाउँमा सामन्य त्रुटि भेटिएका छन् । यायावरमा पनि यस्ता त्रुटि भेटिएका थिए । यस्ता त्रुटिलाई कति हलुका रुपमा लिन सकिन्छ त्यो बहसको विषय बन्न सक्छ तर राम्रो किताब बन्नको लागि यस्ता केयरलेस त्रुटि चाहिँ निश्चय पनि हटाउनु पर्छ जस्तो लाग्छ । यी सामन्य त्रुटि ध्यान दिएर पढ्ने सबैले सहजै औंलाउन सक्ने हुनाले त्यसको चर्चा यहाँ गर्न जरुरी लागेको छैन ।

समग्रमा भन्दा यो उपन्यास मलाई लेखकको पहिलो उपन्यास भन्दा कमजोर लागेको छ । विशेष गरी जुनेलीले आफ्नो कथा वर्णन सुरु गरे पछि यो उपन्यासको चमक घट्दै गएको महशुश हुन्छ । पहिलो हाफ सम्म साह्रै राम्रो लागेको तर दोस्रो हाफमा र अन्तमा निराश बनाउने निकै चर्चा र आशा  गरिएको चलचित्र जस्तो हुन पुगेको छ जुनेली । चिराग र सोपालिका पात्र जति सफल छ त्यसको तुलनामा जुनेली पात्र त्यति नै असफल छ । नेपाली साहित्यको राम्रो कृतिको रुपमा गणनामा नआए पनि यसको नौलो कथावस्तु र प्रयोगले यसलाई पठनिय चाहिँ अवश्य बनाएको छ । यहि उपन्यासमा लेखकको जुनेली "५० औं" कृति भनिए पनि मलाई चाहिँ ब्रजेश खनालको "५० औं" कृति अझैं आउन बाकिँ छ जस्तो लागेको छ र यसको लागि उनलाई अग्रिम शुभकामना ।

कर्मठ सुवेदी
२०७२ । ११ । ४

Tuesday, January 26, 2016


मृत्युदण्ड र कविता

मलाई मृत्युदण्डसँग डर लाग्छ
मैले "एउटा बुढो बकाइनोको रुख" मा
झुण्डिएको लाशको कथा पढेको छु
मैले कञ्चटमा विजुलीको झट्का दिएर
मृत्युदण्ड दिएको दृश्य पर्दामा नै भएपनि हेरेको छु
घुँडा टेकाएर पछाडिबाट गोली हानी पनि
मृत्युदण्ड दिइन्छ अनि
सुकरातलाई झैं प्यालामा विष पनि पिलाइन्छ
भन्ने पनि मलाई थाहा छ,
म जीवनलाई माया गर्ने मान्छे
म एउटा आम मान्छे
त्यसैले मलाई मृत्युदण्डसँग डर लाग्छ ।
म यस्तो कविता लेख्न सक्दिन
जस्ले शासकको मन मस्तिष्क हल्लाइ दियोस्
अनि कविता लेखेकै भरमा मृत्युदण्ड सुनाइयोस् ।
मेरो देशका शाशक पनि शोषण गर्छन्
मेरो देशमा पनि असमानताका खाडल छन्
मेरो देश पनि त्यस्तो कविता चाहन्छ
तर म एउटा मृत्युदण्डसँग डराउने आम मान्छे
म जस्तै आम मान्छेले बनेको मेरो देश
यहाँ मृत्युदण्ड जित्ने कविता लेखिन्न
यहाँका कवि म जस्तै मृत्युदण्डसँग डराउँछन्
यहाँ केवल चाप्रुसीका कविता लेखिन्छन् ।।

कर्मठ सुवेदी

२०७२ । १० । १३

Wednesday, August 12, 2015



तिम्रो नै यादले भिज्छ आँखा सधै एक्लो हुँदा मात्रै
आगो बल्छ मुटुमा तिमीलाई अरुले छुँदा मात्रै ||

हिजो आज तिम्रो नै तारिफ सुन्छु सबैको मुख बाट 
भड्किन्छ शान्त मन त्यसै, तिम्रो तारिफ सुन्दा मात्रै ||

मेरो हरेक सांसमा तिम्रो चित्र कोर्छु मन भित्रै 
दुनियाको चलन नै यस्तै चोट देख्छ रुंदा मात्रै ||

जति टाडा भए पनि जसले जे सुकै सुनाए पनि 
त्यसै खुशी हुन्छ मन झलक तिम्रो पाउँदा मात्रै ||

कर्मठ सुवेदी

तिम्रा यादहरु


तिमीलाई भुल्न खोज्नु पनि 
बेकार रहेछ,
तिमीजस्तै जिद्घी छन् तिम्रा यादहरु पनि
तिमीलाई भुलेर नयाँ जीवन ज्यूँन चाहन्छु म
तर तिम्रो याद त भुल्न नसक्ने म 
तिमीलाई खै कसरी भुँलू ?

त्यसैले अब तिम्रा यादहरु सँगै
प्रेम गर्न थालेँ मैँले,
तिमी मेरी नभए पनि 
तिम्रो याद त मेरो आफ्नो हो 
तिमीलाई प्रेम गर्ने अधिकार नहुन सक्छ मेरो
तर तिम्रा यादहरु माथि केवल 
मेरो अधिकार छ,
अनि मेरो एकान्तको । 

अब तिम्रो झल्को आउने
कुनै चीजसँग पनि प्रेम गर्ने कोसिस गर्दिन म
तिम्रो याद ताजा गर्नु मात्र नै त हो
तर बासी नै कहिले पो हुन्छन् र तिम्रा यादहरु ?
म तिमी बिना बाँच्न नसक्ने होइन 
तर तिम्रो याद बिना
जीवन कसरी सम्भव छ ?
म तिमी नहुँदा हाँस्न नसक्ने होइन
तर तिम्रो याद बिना 
आँशु कसरी सम्भव छ ?
तिम्रो नाम बिनाको ढुकढुकी नचल्ने होइन
तर तिम्रो याद बिना
साँस फेर्न कसरी सम्भव छ ?

हो, आँशु मैले रोँजे
तर तिमीले हाँसो पनि त दिइनौ
मेरो मुटु म आफैले जलाँए
तर तिमीले शीतलता पनि त दिइनौ
हो, यो मेरो पागलपन हो
तर तिम्रा यादहरु कति कमजोर छन्
मलाई पागल पनि त हुन दिँदैनन् ।

त्यसैले,
म हाँस्छु
म पागल हुन्न
म बाँच्छु
म आँशु पनि बगाउन्न
तर तिम्रा यादहरु,
के तिमी, तिमीसँगै लान सक्छ्यौ ?
के तिमी मेरो अस्तित्व 
तिम्रा यादहरु बिना कल्पना गर्न सक्छ्यौ ?


कर्मठ सुवेदी

तिम्रो लागी


रात नहुँदो हो त,
तारा नचम्किंदो हो त,
जून पनि नलाग्दो हो त,
दिन पछि फेरी दिन आँउदो हो त,
सायद,
तिम्रो याद पनि आउँदैन थियो
तिम्रो मुहारले त्यसै त्यसै मार्दैन थियो ।

पानीका बाछिटा कति साना हुन्छन् ?
जूनकिरीले कति थोरै उज्यालो दिन्छ ?
धुलोका कण हावामा कता हराँउछन् ?
एक पलमा कति जिन्दगी बाँचिन्छ ?
सास फेर्दा कति वायु भरिन्छ ?
भो, धेरै सोचें,
तिम्रो याद नआउन दिमागलाई धेरै मोडें,
धेरै कविता लेखें, धेरै गजल रचें,
कलम चलाउन छोडें, तिम्रो तस्वीर कुनामा फालें
आँशु,
कति पिएँ , कति छचल्केर पोखिए १
घृणा,
कति गर्ने कोसिस गरें, कति बदनाम गरें १
सँगै जिउने मर्ने कसम खान सकिन,
तिम्रो मुहार नहेर्ने कति झुटो कसम खाँए १

तिमी जूनलाई 
तिम्रो घरमा खेल्ने खेलौना भन्छ्यौ,
तिमी पूmललाई
तिम्रो शरीरको कपडासँग दाँज्छ्यौ,
म पूर्वबाट घाम उदाउँछ भन्छु
तिमी होइन पश्चिमबाट घाम अस्ताउँछ भन्छ्यौ,
म तिमीमा सबै संसार पाउन खोज्छु
तिमी पुरै संसारलाई पाउन खोज्छ्यौ,
म भवँराबाट ‘आपूmलाई बचाऊ’ भनी सम्झाउँछु
तिमी अरुलाई म बाट बचाउँछ्यौ,
तिमीलाई तिम्रो शक्ति थाहा छ,
मलाई मेरो कमजोरी १
तिमी सबैसँग हाँस्न जान्दछ्यौ,
म एक्लै रुन जान्दछु १

निलो आकाशले,
धर्तीलाई अँगाल्न जति तन्के पनि
सधैं छोटो पर्छ,
कालो बादलले,
कालै रातलाई जति भिजाउन दन्के पनि
सधैं रित्ति बिलाउँछ,
तिम्रो यादले,
म जति टाढा भए पनि
सधैं भौतारि पछारी दिन्छ,
भरी प्याला उठाएर,
प्रत्येक घुट्कोमा तिरष्कार गरे पनि
रितिंदा फेरी उस्तै माया,
जति पर प्रकाश,
जति भाग्न खोजे पनि
फर्कदां उस्तै छाया ।

बाछिटाले दैलो भिजाउने हो
घर भत्काउन सक्दैन,
जूनकिरी रातमा मात्रै बल्ने हो 
दिनमा घामसँग दाजिंदैन,
सास तानुन्जेल मात्रै शुद्घ बायु हो
बाहिर निस्कँदा उस्तै रहँदैन,
जिन्दगी, एक पलको मात्रै कहाँ हो र ?
मेरो कमजोरी सधैं कहाँ रहिरहन्छ र ?
धर्ती जति भागे पनि
आकाशले नघेरी कहाँ अडिन्छ र ?
भरी प्यालाले नशा दिन्छ
घुट्को नलिइ जमिनमा फ्याले, के गर्छ र ?
सम्झेर रुन जस्तै सजिलो 
बिर्सेर हाँस्न पनि होइन र ?
सधैं उस्तै रात कहाँ हुन्छ र ?
तिमी निदाउँदा म ब्यूँझे,
अरु कोही ब्यूँझदा
म पनि निदाउँला,
जे भए पनि जस्तो भए पनि
हाँसेर त बाँचिएला,
कुनै क्षण यस्तो आउला
दिन भन्दा रात प्यारो होला,
जूनेली रातमा तारा गनेर 
तिम्रो हाम्रो कथा सम्झौंला,
सम्झि सम्झि हाँसौंला
हाँसी हाँसी बाचौंला ।



कर्मठ सुवेदी
२०६४/०९/१३ (शुक्रबार)
१०:५८ (राती)


म काठमाडौंको मान्छे


म काठमाडौंको सम्भ्रान्त
परिवारमा जन्मेको मान्छे
म काठमाडौंको Boarding मा
अङ्ग्रेजी रटेर हुर्केको मान्छे,
मलाई तिम्रो गरिवीले काँही छुदैंन
मलाई राष्ट्रियताको बोल सुन्ने बानी छैन ।
मेरो शहरको वरिपरि,
जस्तै विपत्ती पनि थेग्न सक्ने
बलियो पर्खाल उभिएको छ,
यहाँ कोशीको बाढी छिर्न सक्दैन,
बाग्मतीको बाढी भित्रै हराउँछ,
यहाँ पहिरोले मलाई केहि लर्छादैन,
भूकम्पले पनि साना टहरा भत्काउलान्
मेरो सिमेन्टले बनेको बलियो महल ढाल्दैन ।
हिजो जब डर र त्रासमा तिमीहरु
बाचेँको अभिनय गर्दै थियौ,
म निर्धक्क भएर सिनेमा हेरी रहेको हुन्थे,
तिमी जब भोकले रन्थनेर,
कुहिएको चामालको लागि तछाड मछाड गथ्र्यै,
म लाईन लागेर पाँथतारे होटलको पार्टीमा
गरम मेलामाइनका प्लेटहरु भर्दै हुन्थे,
तिमीले आफ्नो गोली लागेको छोराको लाश उठाउँदाको तस्वीर
हेरी रहेका मेरो बाबुको Mood On गर्न
गिलासमा हाली महँगो रक्सी पिलाएको छु मैले,
तिम्रो विदुवा बुहारीलाई जंगलमा लगि
ब्वाँसोहरुले लुछ्दै खाँदै गर्दा,
म मेरी प्रीयासँग मखमली ओछ्यानमा
योवन साट्दै गरेको हुन्थें,
तिमी तेल किन्न नसकी
ओभानो तरकारी खाँदा
म Petrol को लाईन बस्नु पर्या
भनि गुनासो गर्दै थिएँ,
तिमी एक भारी दाउराको लागि
तीन कोश हिड्दा म
गाडीमा झुण्डेर
यात्रा गर्नुको पीडा पोख्दै थिएँ ।
तिमीलाई याद होला,
तिमी जहाँ आफूलाई नेपाली भनी
विरताको गीत गाउँदै हिड्थ्यौ,
त्यहाँ जब भारतीय झण्डा गाडियो,
तिमी आफ्नो राष्ट्रियता खोज्दै
मेरो शहर पसेका थियौ,
तिमीले मलाई तिम्रो लागि लडिदिन आवहान पनि गर्यौ,
तर म मेरो छिमेकी सँग
मेरो दुई ईञ्च जग्गाको लागि लड्दै थिएँ ।
हिजो कालापानीको लागि तिमी रुँदा,
आज सुस्ताको लागि तिमी चिच्याउँदा
न मैले तिम्रो आशँु देखेँ
न मेरो कानले केहि सुन्यो ।
मैले दुःखको छायाँ समेत आफूलाई
पर्न दिएको छैन,
मेरो हरेक मागहरु मेरो बाबुले
सहजै पुरा गर्देका छन्,
त्यसैले, अहँ म तिम्रो
दुःख बुझ्नै सक्दिन,
मेरो आखाँबाट तिम्रो पिडामा आशुँ पटक्कै झर्दैन,
मलाई राष्ट्रियताको भावना पोख्दै नपोख,
किन कि म
काठमाडौंको मान्छे,
सुविधामा हुर्केको मान्छे,
तिम्रो भन्दा भिन्दै संसारको मान्छे ।


कर्मठ सुवेदी
२०६५।०५।२६
विहीबार