Wednesday, August 12, 2015



तिम्रो नै यादले भिज्छ आँखा सधै एक्लो हुँदा मात्रै
आगो बल्छ मुटुमा तिमीलाई अरुले छुँदा मात्रै ||

हिजो आज तिम्रो नै तारिफ सुन्छु सबैको मुख बाट 
भड्किन्छ शान्त मन त्यसै, तिम्रो तारिफ सुन्दा मात्रै ||

मेरो हरेक सांसमा तिम्रो चित्र कोर्छु मन भित्रै 
दुनियाको चलन नै यस्तै चोट देख्छ रुंदा मात्रै ||

जति टाडा भए पनि जसले जे सुकै सुनाए पनि 
त्यसै खुशी हुन्छ मन झलक तिम्रो पाउँदा मात्रै ||

कर्मठ सुवेदी

तिम्रा यादहरु


तिमीलाई भुल्न खोज्नु पनि 
बेकार रहेछ,
तिमीजस्तै जिद्घी छन् तिम्रा यादहरु पनि
तिमीलाई भुलेर नयाँ जीवन ज्यूँन चाहन्छु म
तर तिम्रो याद त भुल्न नसक्ने म 
तिमीलाई खै कसरी भुँलू ?

त्यसैले अब तिम्रा यादहरु सँगै
प्रेम गर्न थालेँ मैँले,
तिमी मेरी नभए पनि 
तिम्रो याद त मेरो आफ्नो हो 
तिमीलाई प्रेम गर्ने अधिकार नहुन सक्छ मेरो
तर तिम्रा यादहरु माथि केवल 
मेरो अधिकार छ,
अनि मेरो एकान्तको । 

अब तिम्रो झल्को आउने
कुनै चीजसँग पनि प्रेम गर्ने कोसिस गर्दिन म
तिम्रो याद ताजा गर्नु मात्र नै त हो
तर बासी नै कहिले पो हुन्छन् र तिम्रा यादहरु ?
म तिमी बिना बाँच्न नसक्ने होइन 
तर तिम्रो याद बिना
जीवन कसरी सम्भव छ ?
म तिमी नहुँदा हाँस्न नसक्ने होइन
तर तिम्रो याद बिना 
आँशु कसरी सम्भव छ ?
तिम्रो नाम बिनाको ढुकढुकी नचल्ने होइन
तर तिम्रो याद बिना
साँस फेर्न कसरी सम्भव छ ?

हो, आँशु मैले रोँजे
तर तिमीले हाँसो पनि त दिइनौ
मेरो मुटु म आफैले जलाँए
तर तिमीले शीतलता पनि त दिइनौ
हो, यो मेरो पागलपन हो
तर तिम्रा यादहरु कति कमजोर छन्
मलाई पागल पनि त हुन दिँदैनन् ।

त्यसैले,
म हाँस्छु
म पागल हुन्न
म बाँच्छु
म आँशु पनि बगाउन्न
तर तिम्रा यादहरु,
के तिमी, तिमीसँगै लान सक्छ्यौ ?
के तिमी मेरो अस्तित्व 
तिम्रा यादहरु बिना कल्पना गर्न सक्छ्यौ ?


कर्मठ सुवेदी

तिम्रो लागी


रात नहुँदो हो त,
तारा नचम्किंदो हो त,
जून पनि नलाग्दो हो त,
दिन पछि फेरी दिन आँउदो हो त,
सायद,
तिम्रो याद पनि आउँदैन थियो
तिम्रो मुहारले त्यसै त्यसै मार्दैन थियो ।

पानीका बाछिटा कति साना हुन्छन् ?
जूनकिरीले कति थोरै उज्यालो दिन्छ ?
धुलोका कण हावामा कता हराँउछन् ?
एक पलमा कति जिन्दगी बाँचिन्छ ?
सास फेर्दा कति वायु भरिन्छ ?
भो, धेरै सोचें,
तिम्रो याद नआउन दिमागलाई धेरै मोडें,
धेरै कविता लेखें, धेरै गजल रचें,
कलम चलाउन छोडें, तिम्रो तस्वीर कुनामा फालें
आँशु,
कति पिएँ , कति छचल्केर पोखिए १
घृणा,
कति गर्ने कोसिस गरें, कति बदनाम गरें १
सँगै जिउने मर्ने कसम खान सकिन,
तिम्रो मुहार नहेर्ने कति झुटो कसम खाँए १

तिमी जूनलाई 
तिम्रो घरमा खेल्ने खेलौना भन्छ्यौ,
तिमी पूmललाई
तिम्रो शरीरको कपडासँग दाँज्छ्यौ,
म पूर्वबाट घाम उदाउँछ भन्छु
तिमी होइन पश्चिमबाट घाम अस्ताउँछ भन्छ्यौ,
म तिमीमा सबै संसार पाउन खोज्छु
तिमी पुरै संसारलाई पाउन खोज्छ्यौ,
म भवँराबाट ‘आपूmलाई बचाऊ’ भनी सम्झाउँछु
तिमी अरुलाई म बाट बचाउँछ्यौ,
तिमीलाई तिम्रो शक्ति थाहा छ,
मलाई मेरो कमजोरी १
तिमी सबैसँग हाँस्न जान्दछ्यौ,
म एक्लै रुन जान्दछु १

निलो आकाशले,
धर्तीलाई अँगाल्न जति तन्के पनि
सधैं छोटो पर्छ,
कालो बादलले,
कालै रातलाई जति भिजाउन दन्के पनि
सधैं रित्ति बिलाउँछ,
तिम्रो यादले,
म जति टाढा भए पनि
सधैं भौतारि पछारी दिन्छ,
भरी प्याला उठाएर,
प्रत्येक घुट्कोमा तिरष्कार गरे पनि
रितिंदा फेरी उस्तै माया,
जति पर प्रकाश,
जति भाग्न खोजे पनि
फर्कदां उस्तै छाया ।

बाछिटाले दैलो भिजाउने हो
घर भत्काउन सक्दैन,
जूनकिरी रातमा मात्रै बल्ने हो 
दिनमा घामसँग दाजिंदैन,
सास तानुन्जेल मात्रै शुद्घ बायु हो
बाहिर निस्कँदा उस्तै रहँदैन,
जिन्दगी, एक पलको मात्रै कहाँ हो र ?
मेरो कमजोरी सधैं कहाँ रहिरहन्छ र ?
धर्ती जति भागे पनि
आकाशले नघेरी कहाँ अडिन्छ र ?
भरी प्यालाले नशा दिन्छ
घुट्को नलिइ जमिनमा फ्याले, के गर्छ र ?
सम्झेर रुन जस्तै सजिलो 
बिर्सेर हाँस्न पनि होइन र ?
सधैं उस्तै रात कहाँ हुन्छ र ?
तिमी निदाउँदा म ब्यूँझे,
अरु कोही ब्यूँझदा
म पनि निदाउँला,
जे भए पनि जस्तो भए पनि
हाँसेर त बाँचिएला,
कुनै क्षण यस्तो आउला
दिन भन्दा रात प्यारो होला,
जूनेली रातमा तारा गनेर 
तिम्रो हाम्रो कथा सम्झौंला,
सम्झि सम्झि हाँसौंला
हाँसी हाँसी बाचौंला ।



कर्मठ सुवेदी
२०६४/०९/१३ (शुक्रबार)
१०:५८ (राती)


म काठमाडौंको मान्छे


म काठमाडौंको सम्भ्रान्त
परिवारमा जन्मेको मान्छे
म काठमाडौंको Boarding मा
अङ्ग्रेजी रटेर हुर्केको मान्छे,
मलाई तिम्रो गरिवीले काँही छुदैंन
मलाई राष्ट्रियताको बोल सुन्ने बानी छैन ।
मेरो शहरको वरिपरि,
जस्तै विपत्ती पनि थेग्न सक्ने
बलियो पर्खाल उभिएको छ,
यहाँ कोशीको बाढी छिर्न सक्दैन,
बाग्मतीको बाढी भित्रै हराउँछ,
यहाँ पहिरोले मलाई केहि लर्छादैन,
भूकम्पले पनि साना टहरा भत्काउलान्
मेरो सिमेन्टले बनेको बलियो महल ढाल्दैन ।
हिजो जब डर र त्रासमा तिमीहरु
बाचेँको अभिनय गर्दै थियौ,
म निर्धक्क भएर सिनेमा हेरी रहेको हुन्थे,
तिमी जब भोकले रन्थनेर,
कुहिएको चामालको लागि तछाड मछाड गथ्र्यै,
म लाईन लागेर पाँथतारे होटलको पार्टीमा
गरम मेलामाइनका प्लेटहरु भर्दै हुन्थे,
तिमीले आफ्नो गोली लागेको छोराको लाश उठाउँदाको तस्वीर
हेरी रहेका मेरो बाबुको Mood On गर्न
गिलासमा हाली महँगो रक्सी पिलाएको छु मैले,
तिम्रो विदुवा बुहारीलाई जंगलमा लगि
ब्वाँसोहरुले लुछ्दै खाँदै गर्दा,
म मेरी प्रीयासँग मखमली ओछ्यानमा
योवन साट्दै गरेको हुन्थें,
तिमी तेल किन्न नसकी
ओभानो तरकारी खाँदा
म Petrol को लाईन बस्नु पर्या
भनि गुनासो गर्दै थिएँ,
तिमी एक भारी दाउराको लागि
तीन कोश हिड्दा म
गाडीमा झुण्डेर
यात्रा गर्नुको पीडा पोख्दै थिएँ ।
तिमीलाई याद होला,
तिमी जहाँ आफूलाई नेपाली भनी
विरताको गीत गाउँदै हिड्थ्यौ,
त्यहाँ जब भारतीय झण्डा गाडियो,
तिमी आफ्नो राष्ट्रियता खोज्दै
मेरो शहर पसेका थियौ,
तिमीले मलाई तिम्रो लागि लडिदिन आवहान पनि गर्यौ,
तर म मेरो छिमेकी सँग
मेरो दुई ईञ्च जग्गाको लागि लड्दै थिएँ ।
हिजो कालापानीको लागि तिमी रुँदा,
आज सुस्ताको लागि तिमी चिच्याउँदा
न मैले तिम्रो आशँु देखेँ
न मेरो कानले केहि सुन्यो ।
मैले दुःखको छायाँ समेत आफूलाई
पर्न दिएको छैन,
मेरो हरेक मागहरु मेरो बाबुले
सहजै पुरा गर्देका छन्,
त्यसैले, अहँ म तिम्रो
दुःख बुझ्नै सक्दिन,
मेरो आखाँबाट तिम्रो पिडामा आशुँ पटक्कै झर्दैन,
मलाई राष्ट्रियताको भावना पोख्दै नपोख,
किन कि म
काठमाडौंको मान्छे,
सुविधामा हुर्केको मान्छे,
तिम्रो भन्दा भिन्दै संसारको मान्छे ।


कर्मठ सुवेदी
२०६५।०५।२६
विहीबार
थाहा छैन मेरो जीवनमा तिम्रो खै कस्तो छाप थियो 
जहाँ म पुगे पनि साथमा तिम्रै पदचाप थियो 

मन यो ठण्डा हुँदा भित्र भित्रै कति कामको थियो
न्यानो पार्ने यो मनलाई तिम्रै मायाको राप थियो 

तिमीलाई यो मुटुले नरोजेको कहिले पो थ्यो र ?
हाम्रो मिलनको बिरुद्धमा कुनै ठुलो श्राप थियो 

अरुको उपकार गर्नु पुण्य, शास्त्रको सार हो रे!
आफ्नोलाई गर्दा त्यहि सबैको दृष्टिमा पाप थियो ||