Tuesday, March 30, 2021

एक साँझ भट्टीमा

 

मलाई ससानो कुराले आकर्षित गर्छ । आफ्नो वरपर भइरहेको घटनाहरुलाई सँधै नियालि रहेको हुन्छु । अझ अपरिचित मान्छेका गतिविधी नियाल्नु र त्योबाट आफू शान्त रुपमा मनोरञ्जित हुनु मेरो एउटा सोख नै हो । यहि सोखले गर्दा मैले कयौं पटक आफूसँगै हिँडिरहेका साथीहरुको गुनासो नि सुन्नु परेको छ । तर मैले यो सोख कहिल्यै मार्न सकिन र किन हो किन जरुरी पनि ठानिन । यो घटना २०६७ सालको हो । साँझको समयमा म सँधै जसो एउटा भट्टीमा चिया पिउन जान्थेँ । अनि यस्तै कयौं घटनाको साक्षी बनेर फर्किन्थेँ ।


एक साँझ सदा झैं हात्तीवनमा अवस्थित त्यो भट्टी कम चिया पसलमा म पुगेको थिएँ । पसलकी साहूनी अर्ध वैंशे उमेरकी हेर्दा चटक्क परेकी राम्री आकर्षित युवती थिइन । सायद थुप्रै कारण मध्य यो नै एक उत्कृष्ट कारण थियो जसले गर्दा त्यो पसलमा हर साँझ अन्कौं मान्छेको गतिलो जमघट हुने गर्दथ्यो । म चिया खान जान्थें तर मैले पसलमा छिरेर एक कप चिया भन्दा पसलका थुप्रै ग्राहक मेरो मुख हेर्थे । मानौं साँझमा त्यो पसलमा चिया खानु एउटा अघोषित अपराध हो अनि म एउटा खुलम्खुल्ला अपराध गर्दै गरेको अपराधी हुँ । सबै टेबलमा छोएला, सुकुटी, भटमासहरुसँग हरेक गिलासबाट थरी थरीका लोकल रक्सी हाँसि रहेका हुन्थे । साथमा अनेक रंगका गफहरु हावामा इन्द्र धनुष बन्दै मेरो कानमा आइ ठोकिन्थे र म त्यसमै आनन्दित हुँदै चियाको चुस्कीसँगै करिब दश पन्ध्र मिनेट त्यहाँ बिताउँथे र ती आवाज जन्माउने मन मस्तिष्कहरुलाई हृदय देखि नै नमन गर्दै फर्किन्थेँ ।


त्यो साँझ त्यहाँ एउटा मानिसको ठूला ठूला स्वरले अरुको आवाज फिका बनाइ रहेको थियो । त्यो आवाजमा गुनासो थियो, मानिसले गर्न पर्ने कामको सूची थियो, उसको जमना र अहिलेको जमाना बिचको खाडल नाप्ने प्रयत्न थियो अनि एउटा रोष थियो उसका वरिपरीका हरेक परिवेश प्रती । बेला बेला ऊ गम्भीर हुन्थ्यो र गम्भीर मुद्रामा गिलासको लोकल "कडा" रक्सी स्वाट्ट पार्थ्यो र त्यो तिक्तता मेट्न दुई तीन टुक्रा सितन छिटो छिटो चपाउँदै निल्थ्यो । ऊ आफ्नो तर्क अरु रक्स्याहाहरुसँग नभइ त्यही साहूनीसँग व्यक्त गर्दै थियो । साहूनीपनि ग्राहक भनेको भगवान हो र उसलाई खुशी राख्नु पर्छ भन्ने भावमा उसका हरेक कुरामा स्वीकृती सूचक मुस्कुराउँदै टाउको हल्लाउँदै र बेलाबेलामा, 'त्यो त हो' भन्दै उसको हौसला बढाउँदै अरु ग्राहकहरुको अर्डर पुरा गर्दै उसको कुरा ध्यानसँग सुनिरहेको भान गर्दथी । साहूनी अन्त व्यस्त हुँदा भने उसको तर्कहरु त्यही टेबलमा एक्लै बसिरहेको र उसले पहिलोपल्ट भेटेको ऊ जस्तै अर्को ग्राहक पट्टी सोझिन्थ्यो । तर साहूनी फेरी फुर्सदिलो हुने बित्तिकै ऊ त्यो ग्राहक प्रति एकदम अन्जान व्यवहार गर्दै आफ्नो दृष्टि एकटकसँग साहूनी माथी नै राख्दै बोली रहन्थ्यो । त्यो मानिसलाई मैले पहिलापनि त्यही पसलमा धेरै चोटि देखेको थिएँ तर त्यो दिन किन हो ऊ त्यस पसलमा विशेष बनीरहेको थियो ।


म पुग्दा सायद ऊ गफको मध्य भाग तिर थियो, तर मलाई गफको विषयवस्तु समाउन धेरै कसरत गर्नै परेन । कारण ऊ हरेक तर्क घुमाइफिराइ धेरै पटक राख्थ्यो र अगाडि बोलेको कुरा पनि दोहोर्याइ रहन्थ्यो । मलाई भित्र छिर्ने बित्तिकै आजको साँझ विशेष हुन्छ जस्तो लागि सकेको थियो नत्र भने कति साँझ त खासै कसैको पनि केही ठोस कुरा नसुनी म शुन्य भावमा बाहिरेको हुन्थें । तर त्यो साँझ उसको ठूल्ठूलो स्वर, ऊ भित्र रक्सीले गर्मी बनाएको मन र त्योसँगै बाफिएर बाहिर निस्किरहेका उसका भावनाले मलाई राम्रैसँग आकर्षित गरिसकेको थियो । 


उसको मूखबाट निस्केको पहिलो वाक्य जुन सिधै रमाइलो प्रसँगको संकेत गर्थ्यो आएर मेरो कानमा ठोकिन पुग्यो । ऊ भन्दै थियो, "भारतमा मान्छे चार पाँचवटा छोरछोरी जन्माउँछन्, तर यहाँ जाबो दुईवटा पाएपछि मान्छे डराउँछन् ।" मैले एकैछिनमा बुझी हालें म पुग्नु पूर्व ऊ साहूनीलाई जम्मा दुई छोराछोरी भएकोमा जिस्काइ रहेको रहेछ । ऊ रक्सीको हलुका नशामा आकर्षित अर्ध बैशें साहूनीसँग बच्चा जन्माउने प्रेरणा दिने गफ गर्दै थियो । किन हो म त्यसै रोमाञ्चित भएँ र त्यस गफमा विशेष ध्यान दिँदै ऊ सँगैको टेबलमा बसेँ र चिया मगाएँ । म तिर चिया मगाएकोमा सहानुभुती सूचक हो वा मूर्खताको भावमा एउटा फिक्का हाँसो फ्याक्दै ऊ आफ्नै गफमा तल्लीन हुन थाल्यो । 


"हाम्रो बाउ आमालेपनि हामीलाई जन्माइदिएर छोडेका हुन्, के नै खान दिन्थे र ? तर पनि हामी बाँचिहाल्यौं र अहिले पनि मजाले बाँचेका छँदै छौ नि!" जवाफमा साहूनीको मुस्कानपूर्ण जवाफ आयो । "खाना खाउन होइन, अहिले त पढाउन नै सकिँदैन, धेरै पाएर के गर्नु ?" साहूनीको जवाफ आउना साथ त्यसको विरुद्ध उसको यति छिटो अर्को तर्क आयो मानौं ऊ पहिला नै जान्द थियो साहूनीको जवाफ यहि आउँछ र त्यसको विरुद्ध बोल्ने कुरा यहि मात्रै नै हो । "पढाउनु नि किन पर्यो ? पढेर मात्रै के हुन्छ र ? सबैजनाले पढे भने नपढ्ने मान्छेले गर्ने काम कसले गर्छ ?" अब भने ऊ कसैको जवाफको प्रतिक्षामा थिएन र एकोहोरो बोली मात्रै रहेको थियो । म भर्खर आएको चियाको पहिलो चुस्की लगाउँदै ऊ तिर हेर्दै नहेरी सुनी मात्रै रहेको थिएँ । उसको स्वर झन् झन् ठूलो हुँदै भन्दै थिए, "सबैजना डाक्टर भए भने रोगी को हुने ? सबै इन्जीनियर भए भने बाटो बनाउँदा ढुङ्गा कसले बोक्ने ? मान्छेहरु किन यो कुरा बुझ्दैनन् ? मान्छेको त बुद्धि नै छैन । तपाईँ डाक्टर भएको भए हामीलाई छोएला कसले बेच्थ्यो ?" गिलासको रक्सी उचाल्दै ऊ अझ जोडलसँग तर गम्भीर बन्दै भन्यो,"यो रक्सी बनाउने मान्छे पनि पढेको भए सायद उसले पनि महँगो महँगो रक्सी बनाउँथ्यो होला अनि हामी यो रक्सीपनि नभाको भए कसरी बाँच्थ्यौं होला ?" ऊ आफूले आफूलाई व्यङ्ग्य गरेको केही समय पछि बुझे जस्तै गरी एक क्षण मौन रह्यो अनि आफ्नो ओठमा अपेक्षाको भावमा कृत्रिम हाँसो ल्याउँदै एक नजर गीलासको रक्सीमा नजर टक्क अडाएर हेर्दै एकै सासमा त्यो रक्सी स्वाट्ट पार्यो । उसको पछिल्लो बोलीले म ऊ तर्फ हेर्न बाध्य भएको थिएँ । तिक्त्ताले मुखका सबै छाला एक पटक खुम्च्याउँदै उसले एक टुक्रा छोएला मुखमा हाल्यो र साहूनीलाई अर्को एक गिलास थप्न अनुरोध गर्यो । 


साहूनीपनि पूर्व अभ्यस्त झैं उसले भन्नु भन्दा अघि नै अर्को गिलास रक्सी गिलासमा भर्दै थिईन् र उसको बोली सुन्नासाथ गुरुको आज्ञा पाइ कक्षा कोठा भित्र प्रवेश गरेकी छात्रा झैं उसको टेबलमा गएर रित्तो गीलास भर्दिइन । ऊ अघि छुटेको आफ्नो गफको त्यान्द्रो समाउने प्रयासमा बोल्यो,"त्यसैले साहुनी अर्को पनि पाउनु पर्छ" । फेरी जोडले हाँस्दै भन्यो,"कि साहुजी नै मान्दैनन् ?" उसको यो प्रश्नमा साहूनीपनि हाँस्दै होसीयारी पूर्वक जवाफ दिइन्,"साहूजी त किन मान्दैन थिए, मैले नै नमानेको । अहिलेको जमानामा पनि दुई वटा भन्दा धेरै पाएर के गर्नु? किन पो चाहियो र धेरै? न जोत्ने हात धेरै हुन्छ भन्नु छ न कुटो कोदालो चलाउनु छ ।" त्यही छेउमा उभि रहेको सानो छोरो तिर हेर्दै भनिन्, "आखिर बुढो भए पछि यिनले पनि हेर्ने होइनन्, आआफ्नालाई च्यापेर कता जाने हुन् । हात खुट्टा नलागुन जेल त हो, त्यसपछि त आफ्नो बाटो लागि हाल्छन् नि ।" आफ्नो आमाको मुखबाट आफ्नो कुरा हुँदा खोइ के बुझेर हो उसको चार वर्षको त्यो छोरो लजाउँदै मुस्कुरायो । 


साहूनीको जवाफमा सहि थप्दै त्यो मानिस बोल्यो,"त्यो पनि हो, हामीलाई त यिनीहरुले पछि लात हान्दै निकाल्छन् होला, अहिले हाडछाला एक गरी हुर्कायो पछि त्यही हाडछाला काढेर लान बेर लाउँदैनन् ।" उसको पछिल्लो वाक्य सिद्धिनु पहिले नै साहूनी कुनाको ग्राहकको अर्डर बोकी त्यस तर्फ गइ सकेकि थिइन् । अत: उसले आफ्नो पछिल्लो वाक्यको प्रतिकृया पाउन अघि देखि यी सब सुनिरहेको अर्को ग्राहक तर्फ हेर्यो । त्यो अर्को ग्राहकपनि सायद उसले मेरो प्रतिकृया खोजेको हो भन्ने बुझ्यो र केही बोल्नै पर्छ भन्ने भावमा भन्यो,"ठीक भन्नू भो, हामी बुढो हुँदा सम्म त यहाँ मान्छेले मान्छेलाई खान बेर लाउँदैनन्"। अलि विरक्त्तको भावमा त्यो अर्को ग्राहक ऊ अगाडिको सुकुटि चपाउन थाल्यो । 


साहूनी अब भने पुन: गफमा सामेल हुँदै भनिन्, "अनि किन पाउनु त धेरै छोराछोरी, मलाई त पुग्यो अब ।" साहूनीको गफ भित्रको पुनरागमनले ऊ त्यसै हौसिएर आयो र एक नजर साहूनीको मुखमा धेरै कुराले मिश्रीत भावमा हेर्यो र भन्यो,"कि धेरै बच्चा पाएपछि छिट्टै बुढि हुन्छु जस्तो लागेर हो ?" यस्ता प्रश्नबाट निकै अभ्यस्त साहूनी बोलिन्,"बुढि त भै सकें, यी कान्छो छोरो नै यत्रो भइ सक्यो अब नि बुढि नभए कहिले हुनु ?" 


मलाई सायद त्यो दिनको कोटा पुगी सकेको थियो त्यसैले साहूनीको यो पछिल्लो भनाइमा मुस्कुराउँदै चियाको पैसा तिरें र निस्कें । निस्किँदै गर्दा सुनेँ, "तँपाई नै बुढि हुनु भयो भने हामी त झन् के भयौं होला अनि साहुजी त झन्….." लामो हाँसो विस्तारै मेरो कानमा मलिन हुँदै थियो । म एक्लै मुस्कुराउँदै ती सबै कुरा मनमा पुन: एकपटक दोहोर्याउँदै घर फर्केँ ।


२०६७ माघ २५को डायरीमा आधारित ।


Wednesday, December 30, 2020

लक्ष्मी दाइ अनि उनकी मार्था

एकदिन अचानक विचार आयो, अब लेख्न थाल्नु पर्छ । के लेख्ने? कथा । कसको? आफूले देखेको अनि चिनेका पात्रहरुको । एकजना लक्ष्मीनारायण दाइको कथा लेख्ने विचार आयो । सन् २०१३मा एक दिन राष्ट्रिय प्रकृति संरक्षण कोषका बाबुराम लामिछाने दाइको फोन आयो । उनकै भाषामा गैडाल्याण्डबाट । भाइ फुर्सद छ ? बाघ गन्ने टिममा एकजना स्टुडेण्ट भोलेन्टियर पनि हुन्छ त्यसमा जाने हो ? मन हैसियो । नजाने भन्ने एउटा पनि कारण थिएन । हुन्छ दाइ भनें अनि भोली पल्ट विहान ७ः०० बजे जमलबाट टुरिस्ट बस चढें र लागें चितवन तिर बरालिन । ताना के. सी बेलायत तिर बरालिन गएका थिए म गएँ गैंडाल्याण्ड तिर बरालिन । वातावरणीय व्यवस्थापनमा स्नात्तकोत्तर भर्खरै सिद्धिएको थियो । वन्यजन्तु संरक्षणमा खासै अनुभव थिएन ।

थेसिस लेख्न ह्युमन वाइल्ड लाइफ (चितुवा) कन्फिल्क्ट छानें । अस्कल देखिकोसँगै पढेको साथी विकल्प अधिकारीको जन्म थलो लम्जुङ्गको सुन्दरबजारको डाँडा काँडा १५ दिन सम्म चहार्दै चितुवाको स्क्याट अनि त्यसको उपस्थितीको साइनहरु खोज्दै हिड्यौं । ती स्क्याटहरुको के मा प्रयोग गर्ने ? कसरी गर्ने ? केहि थाहा थिएन । 

फिल्ड जानु अघि डा. प्रहलाद योञ्जनसँग एक घण्टा उहाँकै अफिस रिसोर्स हिमालयमा अनौपचारिक छलफल गरेका थियौं । डा. योञ्जनले जुन हौसला साथ हामीलाई केहि वन्यजन्तु संरक्षणमा व्यवहारिक ज्ञान दिनु भयो । त्यसको तत्कालिन प्रभाव स्वरुप हाम्रो उर्जाशिल मनमा बन्यजन्तु संरक्षणमा केहि गर्नु पर्छ भन्ने दृढ भावना जागिृत भएको थियो । विडम्बना त्यसको केहि समय पछि नै साइकल दुर्घटनामा उहाँको मृत्यु भयो । केहि कोसिस पश्चात र केहि विज्ञबाट कृटिसाइज भए पछि त्यो रिसर्च वा थेसिस कहिले पुरा हुन सकेन । 

डा. योञ्जनको मृत्युले धेरैले धेरै थोक गुमाए, हामीले बन्यजन्तु संरक्षणमा केहि गर्नु पर्छ भन्ने जोस नै गुमायौं । आज अन्य क्षेत्रमा काम गर्दै गर्दा सिद्धिचरण श्रेष्ठले भनें झैं भाग्य लहरमा लहरी लहरी पुगें म यस मरुस्थलमा कसरी भने जस्तो लाग्छ । डा. योञ्जन प्रति हार्दिक श्रद्धाञ्जली । 

बन्यजन्तु क्षेत्रमा यो बाहेक भएके अर्को अनुभव भनेको बर्ड वाचिङ्ग थियो । सन् २००८।०९ देखि शनिबार विहान विहान काठमाण्डौंको एउटा समूह हामी बर्ड वाचिङ्ग गर्न वरिपरिका डाँडा अनि फाँटहरु चाहथ्र्यौं । छुट्टै आनन्द मिल्थ्यो । कोलाहलबाट टाढा हरिया जंगल अनि रंग बद्लिरहने फाँटहरुमा चराहरु हेर्दै, चिन्दै तिनको रंगनि दुनिँयामा हराँउदा श्यामश्वेत जिन्दगी पनि त्यसै रंगीन लाग्थ्यो । जुन आजका मितीसम्म समय मिलाएर निरन्तरता दिने कोसिस गरी नै रहेको छु ।

यति अनुभवको साथ म बाघ गन्न जान तयार भएँ । दुई दिनको तालिम पश्चात हामी ७ जनाको टोली नवलपरासीको कानामाना क्षेत्रमा क्यामरा ट्रयाप मार्फत बाघ गन्नको लागि प्रस्थान गर्यौं । फागुनको महिना थियो, जंगल भित्रको मौसम मन छुने खालको थियो । सप्तगण्डकीमा काठको डुंगा चढि प्रसिद्ध त्रीवेणी धामलाई वारी छोड्दै हामी पारी लाग्यौं । दुई भरिया सहित आ–आफ्नो झोली गुञ्टा, २२ दिनको रासन अनि अरु बन्दोबस्तीका सामान बोकि काना खोलै खोला आधादिनको यात्रा आधा दिन ढले पछि सुरु गर्यौं । 

चुरे क्षेत्रमा पर्ने त्यो घना जंगल भर्जिन ल्याण्ड जस्तो थियो । एकजना सदस्य पहिला पनि यो क्षेत्रमा धेरै पटक आइसकेकोले हाम्रो क्याम्प बस्ने स्थानको ज्ञान उसैलाई थियो । जिन्दगीमा पहिलो पटक बाघको पाइलाहरु हेर्दै अनि कहिले वारी किनार कहिले पारी किनार त कहिले खोलैखोला हिँड्दै झमक्क साँझमा हामी क्याम्प गर्ने ठाउँमा पुग्यौं । साथमा लगेका दुई ठूला त्रिपाल, कुटो कोदालो अनि खुर्पाको सहायताले सालका केहि खाँबा काटि जसो तसो ज्यान ढलाउने बन्दोबस्त गर्यौं । छेउमा ठूलो धुनी बालेर अनि दुईटा चुलो बनाएर हाम्रो भान्छे लक्ष्मी दाइ र उनका सहयोगी राम चौधरी दाइ मिलेर रातको खाना बनाए । छेउमा उहि काना खोला बगीरहेको थियो । फराकिलो तर गहिराइ नभएको त्यहि खोलाको पानी पिउन देखि धुन सम्म प्रयोग गर्नुको विकल्प थिएन । एउटा अनौठो अनि स्वर्गीय आनन्दको अनुभव भइ रहेको थियो ।

त्यँहि २२ दिनको बसाइमा भेट भएको थियो लक्ष्मी दाइसँग । खासमा पेसाले जंगल गाइड थिए तर यो ट्रिपमा आउन कै लागि उनी हाम्रो भान्छे भएका थिए । हरेक विहान सात बजे हामी जंगल जानु अघि नै दाल भात अनि प्राय आलु प्याजको तरकारी पकाइ तयार गर्दिन्थे । दिउसो जंगलमा खाजा खानको लागि दालमोठ, चाउचाउ र चिउरासँग अदुवा लसुन पिनेर बनाको अचार पनि हाल्दिन्थे । दिनभरी साँझको लागि लक्ष्मी दाइ र राम दाइ भएर दाउरा खोज्थे, धुनी बाल्न मुडाहरु ल्याउँथे अनि कहिलेकाहिँ निउरो खोजेर लियाइ पकाउँथे । साँझको खाना खाए पछि धुनी छेउमा बसेर गाँजा तान्थे अनि विस्तारै जीवनको आफ्नो अनुभवका पोका खोल्दै जान्थे ।

त्यो बेला तिनको उमेर त्यस्तै ४५ वर्ष जति थियो । कहिले तीन दिन चितवनको जंगलमा हराएको कथा भन्थे त कहिले आफ्नो जन्मथलो छोड्नु परेको व्यथा पोख्थे (हालको चितवन राष्ट्रिय निकुञ्ज भित्रको पदमपुरमा जन्मेका उनी परिवार सहित निकुञ्ज बाहिर स्थानतरण भएका थिए) । बाघलाई औधि माया गर्थे । भन्थे, “हेर भाइ, बाघ जंगलको राजा हो, हामी बस्तीको । जसरी एउटा राज्यको राजाले अर्को राज्यको राजाको सम्मान गर्छ बाघले पनि मान्छेको सम्मान गर्छ । ऊ कहिल्यै मान्छेको अघि पर्न चाहिँदैन । हरेक दिन बिहान बाघले सूर्य नारायणलाई नमन गर्छ अनि एउटै चिज माग्छ, “भगवान, मलाई आज मान्छेसँग भेट नगराई देऊ । ”

कति गफजस्ता लाग्ने कथा हुन्थे । कति कथा जस्ता लाग्ने गफ । कति दुःखका गाथा हुन्थे । कति ठट्टाहरु हुन्थे । चितवनमा पहिला बन कुखुरा थिएन रे । एक दिन उनका हजुरबुवा काँधमा दुइवटा टोकरी भरी कुखुरा राखि बेच्न शहर जाँदै थिए रे । बाटोमा पिसाब लागे पछि एउटा डिलमा दुईटा टोकरी राखि पिसाब फेर्न छेउ तिर लागेछन् । ठिक त्यहि बेला ठूलो हुरी आएछ अनि ती टोकरीहरु ढालि दिएछ । भएभरका सबै कुखुरा भागेर जंगलतिर छिरेछन् । त्यसपछि चितवन जंगल भरी कुखुरै कुखुरा भएका रे । उनको गफ गर्ने शेली, उनको चौधरी बोली बडो आकर्षक थियो । हाम्रो हरेक साँझ त्यो जंगलको एकान्तमा उनको कथाहरु सँगै हाँसेर बित्थ्यो ।

अनि एक दिन उनले मार्थाको कथा भने । हो त्यहि कथा लेख्न मन थियो । तर धमिलिएको सम्झनाको त्यान्द्रोमा ती पात्रहरु र कथा कता रुमलिए कता । त्यो कथालाई आफ्नै पात्रहरु दिन पनि खोजें । तर पात्रहरुले मलाई लगातार गिज्जाइ रहे अनि अन्ततः हार मानेर उनको त्यो कथा होइन उनकै बारेमा केहि लेख्ने जमर्को गर्दैछु ।

अहिले सम्झँदा घरि घरि तिनको नाम मार्था होइन कि जस्तो नि लाग्छ । सरुभक्तको पागलबस्तीकी मार्थालाई मैले लक्ष्मी दाइको मार्था पो बनाए कि जस्तो नि हुन्छ । तर मेरो लागि तिनी त्यहि मार्था थिइन जसले लक्ष्मी दाइको जीवनमा नयाँ रंग ल्याइदिइन् ।

मार्था चितवन घुम्न केहि वर्ष अघि आएकि रैछिन् । लक्ष्मी दाइ गाइड भएर तिनलाई चितवनका जंगल घुमाएका रैछन् । मार्थाको व्यक्तित्व साह्रै आकर्षक थियो रे । लक्ष्मी दाइका हरेक कुरामा मजाले मन खोलेर हाँस्थि रे । लक्ष्मी दाइले उसलाई केहि भनेर जिस्काउँदा होस् वा उसको तारिफ गर्दा होस जेमा पनि निर्धक्क हाँस्ने तिनको बानी थियो रे । सबैको ख्याल राख्ने अनि अति नै दयालु थिइन रे । तिनलाई जस्ले भेट्यो त्यसको दिन नै उज्जयालो हुन्थ्यो रे । जंगल घुम्दै गर्दा, अनेक गफ गर्दै गर्दा एक दिन लक्ष्मी दाइलाई महसुस भएछ कि उनी मार्थाको मन भित्रको जंगलमा कतै हराइ सकेछन् । त्यो जंगल घुमाइको क्रममा मार्थाले लक्ष्मी दाइलाई एउटा फ्रेन्च गीत पनि सिकाकि रहिछिन् । त्यो गीत हरेक साँझ लक्ष्मी दाइ गाउँथे । हामी शब्द बुझ्दैन थियौं तर लक्ष्मी दाइको स्वरमा छुट्टै तरङ्ग आउँथ्यो । मार्थाको लागि भन्दै उदित नारायण झाको एउटा नेपाली गीत पनि गाउँथें आफ्नै शैलीमा । तिमी नभए जिन्दगानी काँडा शरीर छ फेरी पनि मेरो केहि गुनासो छैन ।

अन्तिम दिन होटलमा मार्थाले उनलाई तिनीसँगै फ्रान्स जाने प्रस्ताव पनि गरेकी थिइन रे । तर घरमा भएकी श्रीमती अनि छोरीहरुको कारणले गर्दा जान्छु भन्न सकेन छन् । 

मार्थाका कुरा अचम्मका हुन्थे रे । लक्ष्मीदाइ राम्ररी अंग्रेजी पनि नबुझ्ने अनि मार्थालाई पनि अलि अलि मात्रै अंग्रेजी आउने । सोध्थ्यौ, सिनेमामा जस्तो भाषा पनि राम्ररी नबुझि कसरी प्रेम बस्यो मार्थासँग । भन्थे, “मार्थाको कुरा नबुझेपनि त्यो केटिले जीवनमा धेरै भोगेको थाहा हुन्थ्यो, अनि त्यसका हरेक बोली, हाउभाउले यसरी खिच्थियो जसरी चुम्बकले फलाम । मैले उल्टो बुझेको पनि हुन सक्थेँ तर मन परे पछि जे पनि सुल्टो लाग्ने रहेछ । श्रीमतीलाई साह्रै माया गर्थें तर मार्थासँग अचम्मको मोह बसेको थियो । त्यसको मनमा पनि सायद त्यस्तै थियो होला र त फ्रान्स लैजाने प्रस्ताव गरी ।”

हरेक साँझ मार्थाका केहि कुरा हुन्थे । हरेक गाँजाको सर्कोमा लक्ष्मी दाइ मार्थालाई नै सम्झन्थे । कहिले एक पटक फेरी भेट्न मन छ भन्थे त कहिले भेट नभए हुन्थ्यो पनि भन्थे । बाघ गन्न जंगलमा रुमलिरहेका हामी केहि प्राणीहरुलाई लक्ष्मी दाइको कथाले हरेक साँझ यसरी नै घोचि रहन्थ्यो । थाहै नपाइ प्रत्येक साँझ हाम्रो एक टुक्रा मुटु मार्था र लक्ष्मी दाइको लागि चुँडिदै जान्थ्यो अनि त्यहि धुनीमा स्वाह हुन्थ्यो । 

२१ रात बिताए पछि २२ औं दिन त्यो जंगल छोड्नु थियो । मनको एउटा चोइटा अनि मार्थाका कथाहरुको एउटा अंश त्यहि धुनीमा छोड्दै हामी त्यो जंगलबाट बिदा भयौं । अहिले पनि हरेक साँझ लाग्छ लक्ष्मी दाइ त्यहि फ्रेन्च गीत गाउँदै होलान् अनि तिमी नभए जिन्दगानी काँडा शरीर छ फेरी पनि मेरो केहि गुनासो छैन भन्दै मुस्कुराउँदै होलान् । फर्कदा निकै पर पुगेर त्यो धुनीको धुँवालाई एक पटक हेरेको थिएँ अनि सोचेको थिएँ यी धुवाँले हाम्रो सम्झनाका ती कुइनेटाहरुलाई कहाँ पुराउँदै होला ?


२०७६ भदौ १४ शनिबार


Monday, May 18, 2020

मैले बुझेको राष्ट्रियता

अल्बर्ट आइन्स्टाइनका अनुसार, "राष्ट्रियता एक शिशु रोगहो, मानवजातीको दादुरा ।" विश्वका कयौं देशहरुमा (जस्तै रुवान्डा, युगोस्लोभाकिया, नाजीको बेलाको जर्मनी, नेपोलियनको बेलाको फ्रान्स आदि )  गृह युद्धको मुख्य कारक राष्ट्रियता नै हो भन्ने गरिन्छ । त्यसतै राजनैतिक वैज्ञानिकहरुका अनुसार यो एउटा विकासन्मुख देशहरुलाई सँधै पछाडि पारिरहन र ती देशहरुमा भ्रष्टाचारजस्ता घातक तत्वको संरक्षण गर्न धर्म र जातियतासँगै प्रयोग भै रहेको सफल यन्त्र हो ।

कसैले सोच्न सक्छ, त्यसो भए राष्ट्रियता सँधै नकारात्मक मात्रै हुनु पर्छ त ? पक्कै पनि हुनु हुँदैन र सही मानेमा छैन पनि । यो एउटा व्यक्तिलाई परिवार, साथीभाइ र आफन्त भन्दा परका मानिसहरुसँग एकजुट भइ एकताको सुत्रमा बाँध्ने तत्व पनि हो । तर यहाँ नेर विचारणिय कुरा चाहिँ कति परका मानिसहरु भन्ने नै हो । सही अर्थमा राष्ट्रियता के हो त ? नर्वेमा आधारित अन्तराष्ट्रिय सामाजिक सर्भे कार्यक्रमका अनुसार राष्ट्रियता मापन गर्न सजिलो छ रे । केवल एक प्रश्नको उत्तर, "तपाईंलाई आफ्नो राष्ट्र अरु राष्ट्र भन्दा उत्कृष्ट लाग्छ ?" बाट कुनै पनि राष्ट्रमा बसोबास गर्ने मानिसहरुको आफ्नो राष्ट्र प्रतिको राष्ट्रियता झल्किन्छ रे । यदि बहुसांखिक मानिसहरुले लाग्छ उत्तर दिएमा त्यो राष्ट्रका मानिसहरुमा राष्ट्रयताको भाव धेरै छ भन्ने बुझाउँछ रे । तर यो प्रणालीबाट नेपालजस्तो अल्प विकसित मुलुकमा राष्ट्रियता कम छ र संयुक्त अधिराज्य अमेरिका, अष्ट्रेलिया, र अधिकांश यूरोपियन मुलुकहरुमा राष्ट्रियता धेरै छ भनेर स्वत देखाउँछ । त्यसो भए नेपाल जस्तो मुलुकमा राष्ट्रियता साँच्चिकै कमि छ त ? उत्तर स्पस्ट छैन ।

राष्ट्रियता ब्याप्त मुलुकहरुमा त्यहाँका मानिसहरुमा (जनता र नेता दुवैमा) केहि स्वत: स्फूर्त गुणहरु देखिनु पर्छ । जस्तै: म भ्रष्टाचार गर्दिन । म सार्वजानिक सम्पत्तीको संरक्षण गर्छु । म मेरा छिमेकीहरुलाई पनि सम्मानीय व्यवहार गर्छु । म मेरो सरकारले गरेको राम्रो कामको समर्थन अनि नराम्रो कामको विरोध भद्र रुपमा गर्छु । आदि । यदि तपाईंमा यी सोच छ अनि तपाईं त्यसलाई पूर्णरुपमा पालन गर्न कटिबद्ध हुनुहुन्छ भने पक्कै पनि तपाईं जस्तो राष्ट्रियता भरिएको मानिस अरु छैन । तर याद राखौं राष्ट्रियताको भावना भूगोलको परिधीमा बसेर धर्म र जातियताको लेप लगाएर राष्ट्रको नाम जपेर कदापी आउँदैन । लिपुलेकको विषयमा भारतलाई गाली गर्दै सामाजिक सञ्जालको भित्ता रङ्गाउँदैमा मात्रै राष्ट्रियता भरिएको मान्नु भ्रम हो । आर्थर गनले नेपाली नाम र पासपोर्ट (?) त्यागि सक्यो अब यसको समर्थन गर्नुहुँदैन भन्ने भाव पनि राष्ट्रियता होइन । डिभी एक पटक पनि नभर्ने वा पटक पटक भरेर नपर्ने तपाईं राष्ट्र प्रेमी अनि डिभी परेर अमेरिका उड्ने राष्ट्रद्रोही कसरी हुन सक्छ ? एक विदेशीले कपाल खौरेर टुपी देखाउँदै गेरु वस्त्र लगाउँदै आफ्नो नाम परिवर्तन गरेर फलानो बाबा भन्दै भजन गाउँदा गर्व लाग्ने अनि नेपालमा जन्मेको एउटा केटोले गितार बजाएर अङ्ग्रेजी नाम राखेर अङ्ग्रेजी गीत गाउँदा नेपाललाई हेप्यो भन्ने धारणा पाल्नु कति सही हो या गलत ? यो प्रश्न आफैलाई गर्नु होला । 

त्यस्तै लिपुलेक, लिम्पुधारा, कालापानी जस्ता भूभाग नेपालको भूमी यदि हो भने ती भूभागलाई हामी स्कूल पढ्दा देखि नै हाम्रो पाठ्यपुस्तकबाट कसरी हटाइयो ? कुनै एउटा सार्वभौम सम्पन्न मुलुकको भूभाग कसैले कब्जा गर्नु कसैलाई पनि स्विकार्य हुनु हुँदैन । तर यो भाव कसैमा जागृत हुनु के राष्ट्रियताको उपज हुन जरुरी छ त ? यो भाव त एउटा मानव भएको नाताले सत्य माथिको विश्वासको भाव हुनु पर्ने होइन र ? भोली अफ्रिकाको कुनै एउटा मुलुकले अर्को मुलुकको भूभाग यसरी नै कब्जा गर्न खोज्यो भने पनि यहि भाव हामीमा आउन सक्नुपर्छ । साथै गौतम बुद्ध नेपालमा जन्मेका हुन्, सगरमाथा हाम्रो देशमा पर्छ वा आर्थर गन, सन्दिप लामिछाने नेपाली हुन् (हामी स्कूल पढ्दा यो लिस्टमा केवल दुई नाम हुन्थ्यो, उदित नारायण र मनिसा कोइराला) जस्ता फुस्रो अभिमानको पनि कुनै अर्थ छैन । खुशी लाग्नु वा दु:ख लाग्नु व्यक्तिगत भावना हो, यसमा केही गुनासो वा विरोध हुनुहुँदैन तर ती खुशी, दु:ख वा अझ खुचिङ्गका भावहरुलाई राष्ट्रियतासँग जोड्न जरुरी छैन । अमेरिका सहित विश्वमा कोरोना जस्तो माहामारीले लाखौं मानिस मर्दा त्यति नै दु:ख मान्न सक्नुपर्छ जति अफगानिस्तानमा सुत्केरी र भर्खर जन्मेका बालक माथी बम प्रहार हुँदा लागेको थियो । अन्तमा तीनवटा कुराहरु जसले मैले अहिले देखेको राष्ट्रियता (दुइटा धर्मसँगपनि सम्बन्धित छ ) लाई प्रतिनिधित्व गर्छ, यहाँ राखेर बिट मार्न चाहन्छु । 

१. केहि वर्ष अघि नेपालको एकमात्र अन्तराष्ट्रिय विमानस्थलको एक मात्र रन वे विग्रिएर केहि दिन नेपालमा अन्तराष्ट्रिय उडान हुन नसक्दा कसैले ट्विटरमा ट्विट गरेका थिए , एक विदेशीले अचम्मित हुँदै एउटा नेपालीलाई सोधेछ, "तिम्रो देशमा एउटामात्रै रन वे छ? " विचरा त्यो नेपालीले एक छिन सोचेर भनेछ ,"गौतम बुद्ध नेपालमा जन्मेका हुन् अनि सगरमाथा नेपालमा पर्छ " ।

२. केही दिन अघि भारतमा एक सांसदले बोलेको कुरा सामाजिक सञ्जालमा पढ्को थिएँ । "भारतमा मुस्लिम छन् र हामी हिन्दु छौं । यदि भारतमा मुस्लिम नहुने हो भने हामी कोहि हिन्दु बाँकि रहँदैनौं । हामी केवल ब्राहमण, क्षेत्री, वैश्य, शुद्र र दलित मात्रै रहन्छौं । "

३. अरुणधती रोयले आफ्नो उपन्यास, "द मिनिस्ट्रि अफ अटमस्ट ह्यापिनेस" मा कतै कुनै प्रसँगमा लेखेकि छिन् :

मैले एउटा मानिसलाई पुलबाट हाम फाल्न लागेको देखें । 

मैले भनें,"त्यस्तो नगर !"

उसले भन्यो,"मलाई कसैले माया गर्दैन ।"

मैले भनें,"भगवानले तिमीलाई माया गर्नु हुन्छ। के तिमी भगवानमा विश्वास गर्छौ ?"

उसले भन्यो, "गर्छु । "

मैले भनें, " के तिमी मुसलमान हौ कि गैर मुसलमान?"

उसले भन्यो, "मुसलमान। "

मैले भनें, " सिया कि सुन्नी ?"

उसले भन्यो, " सुन्नी । "

मैले भनें, " म पनि!! दियोबन्दी कि बरेल्भी ?"

उसले भन्यो, " बरेल्भी । "

मैले भनें, " म पनि!! तान्जेही कि ताफ्केरी ?"

उसले भन्यो, " तान्जेही । "

मैले भनें, " म पनि!! तान्जेही अजमाती कि तान्जेही फरहाती ?'

उसले भन्यो, " तान्जेही फरहाती । "

मैले भनें, " म पनि!! तान्जेही फरहाती जमैया उल उलुम अजमेर कि तान्जेही फरहाती जमैया उल नुर मेवात ?"

उसले भन्यो, " तान्जेही फरहाती जमैया उल नुर मेवात। "

मैले भनें, " मर काफिर!" अनि मैले नै उसलाई धकेलिदिएँ ।


२०७७।०२।०२


Friday, August 17, 2018

INGO को कार्यशालाबाट


बन्द कोठामा तिम्रो भविष्य केलाउँदै छु
चिसो एसीमा पहेँला बत्तीमुनी बसेर
टेबलका कोठा भर्दै, ग्राफका धर्साहरुसँग
तिम्रो भाग्यका धर्साहरु दाँजदै छु,
तिमी पर कतै घामको रापसँगै वा वर्षाको धारसँगै
खेतबारीमा कुटो कोदालो चलाउँदै हौली,
तिम्रो बुढा सासुससुरा पिढिँको डिलमा बसेर
पर क्षितिज भरि आँखा छर्दै होलान्,
तिम्रो पति अरबमा रगत पसिनासँग
सुन्दर भविष्यको सपना बुन्दै होलान्,
तिमी जब तिम्रो सानी छोरीको आँखामा नियालेर हेर्छ्यौतिमी के देख्छ्यौ ?
के तिमी उसको भोलीमा मेरो आज देख्छ्यौ ?
के तिमीलाई लाग्छ मैले आज यो कोठामा बिताएका मेरा पलहरु
खोक्रो हुनेगरी खर्चिएको मेरो दिमागले
तिम्रो भोली सुन्दर हुनेछ ?
कल्पना गर्छु,
एउटा जस्तै कोहि झोला बोकेर तिम्रो घरमा आउँदा हुन्
तिमीलाई पानी उमालेर पिउने देखि चर्पीको प्रयोगगर्ने सम्म
महिनावारी हुदाँको व्यथा देखि तिम्रो आवाज अनि कथा सम्मका
कुरा गर्दाहुन्,
तिमी कहिले लजाउँदै, कहिले टोलाउँदै, मुन्टो हल्लाउँदै, हुन्छ भन्दै हुन्छौ होली
कहिले आफ्नो आवाज कतै भेला सभामा राख्दै हुन्छौ होली
आवाज राख्दै गरेको तिमीलाई सम्झेरै खुशी हुन्छु
तिम्रो घरमा पानीको धारा झर्यो रे भन्दा नै तृप्त हुन्छु
तर,
के तिमी त्यती बेला आज भन्दा फरक हुन्छ्यौ ?
के तिम्री छोरी फ्नो सपनाको उडान् उड्दै गरेकी हुन्छे ?
के तिमी तिम्रो पतिका काला रातहरु रंगीन भएका हुन्छन् ?
कुनै दिन यी उत्तर खोज्दै आउने छु,
मलाई डर तिम्रो भोलीसँग
अनि आफ्नो आज सँग ।।

Monday, September 26, 2016

दशैं

लिङ्गे पिङ्गमा चाचाहुँइ सररर भन्दा पो दशैं आउँथ्यो
धानको बालासँगै मन लहलह झुल्दा पो दशैं आउँथ्यो

दुई मै’ना अघि देखि हर दिन, दिन गन्नुको मजा बेग्लै
चङ्गा जस्तै आकास भरी फररर उड्दा पो दशैं आउँथ्यो

हावामा सुभाष छाउँथ्यो, माटोको पनि छुट्टै महक हुन्थ्यो
करेसा भरी सयपत्री ढकमक्क फुल्दा पो दशैं आउँथ्यो

बजार भरी दशैं रोज्दै, भिड बिच आफ्नो पहिचान खोज्दै
नयाँ लुगा अनि जुत्तासँगै गमक्क पर्दा पो दशैं आउँथ्यो

२०७३।०६।१०

Saturday, September 10, 2016

कर्णाली, चामल र नियती


केहि वर्ष अघि कर्णाली घुम्ने अवसर जुरेको थियो । जलवायु परिवर्तन सम्बन्धि एउटा कार्यको लागि मुगु जाने अवसर पाउँदा वर्षौ देखि रारा ताल जाने सपना पालेको मन त्यसै पुलकित भएको थियो । करिब ६ वर्ष अघिको त्यो यात्रालाई आज अचानक सम्झने मेसो जुराइ दियो प्रधानमन्त्री पुष्पकमल दाहालको कर्णाली वासीको लागि जन्म तथा मृत्यूमा २० किलो चामल उपहार दिने निर्णयले ।

सानोमा सामन्यज्ञानमा पढेका थियौं संसारको सबैभन्दा उच्च स्थानमा धान फल्ने भनेको समुद्री सतहबाट करिब ३००० मि उचाइमा रहेको जुम्लाको छुम्जुल क्षेत्रमा हाे । मार्सी चामलको भात पहिलो पटक खाँदा जिरा मसिनोको भात भन्दा मिठो लागेको थियो । तर यो भनी रहँदा कर्णालीमा चामलको दुःख छैन र कर्णाली वासीले मार्सी चामलकै भात खानु पर्छ भन्ने आशय भने पक्कै होइन । अर्नेष्ट हेमिंगवेको एउटा बहुचर्चित भनाइ छ, "तिमी तिम्रो छोरालाई माछा देऊ उसले आज खान पाउँछ तर उसलाई माछा मार्ने कला सिकाउ उसले सधैं खान पाउँछ ।"

कर्णालीमा चामलको दुःख पक्कै हाेला तर कणार्ली भोकै बस्नु पर्ने अवश्थामा भने पक्कै छैन । स्थानीय तहमा उत्पादन हुने गहुँ, फापर, कोदो, उवा, सिमी आदीले कर्णालीको भोक मार्न सक्छ । कृषीमा आधुनिकता सँगै उचित बजार व्यवस्थापन तथा जंगली जडिबुटी र प्राकृतिक सम्पदाकाे उपयाेग गर्ने वातावरणाकाे निर्माणा गर्न छोडेर हाम्रा प्रमले जुन २० किलो चामल बाँड्ने निर्णय गर्नु भयो त्यसले क्षणिक लोकप्रियता त अवस्य कमाउँला तर कर्णाली वासीको दिर्घकालीन हित कदापी गर्न सक्दैन । मुगुमा छँदा एक स्थानीय वृद्धले भन्थे, मुगुमा हरेक गैससं र सरकारले लगानी गरेको पैसा एकमुष्ट हरेक मुगुवासीलाई भाग लाउने हो भने हरेकको भागमा काठमाडौंमा घडेरी किन्ने पैसा हात पर्छ रे। 

कर्णाली अहिले यती परनिर्भर भएको छ कि गाउँगाउँमा टोलटोलमा हरेकको गफ गर्ने विषय भनेको कुन गैससंले के को लागी कति पैसा ल्याउँदैछ भन्नेमा सिमित हुन पुगेको छ । कर्णालीका जिल्ला सदरमुकामहरुमा चामल नपाइन सक्छ तर हरेक होटलहरुमा महँगा रक्सीहरु सजाएर राखेको देख्न सक्नुहुन्छ । मैले आफैले देखेको कर्णालीमा मानिसहरु खाद्य संस्थानमा दिन भरी लाइन लागेर ल्याएको सित्तै वा सहुलियत दरको चामलको महँगो दाममा विक्छ भनेर रक्सी बनाएर बेचि रहेका थिए अनि साँझमा प्रिय कोदो वा गहुँको रोटा खाएर सुत्थे ।

एउटा रमाइलो घटना याद आउँछ । म पुगेको मुगुको दुर्गम जिमा गा. वि. स मा एउटा गैससंले एक साल धेरै थरी तरकारीको विऊ बाडेछ अनि लाखौं खर्चेर तिनलाई तरकारी उत्पादनको तालिम पनि दिएछ । त्यो साल सबैको भान्छामा मिठा मिठा तरकारी पाके, नयाँ नयाँ पकवान बने । तर अर्कोसाल कसैले पनि फेरी तरकारी लाएनन् । कारण साधारण थियो, सबैको एउटै उत्तर, त्यो फलानो गैससंले अर्को साल न विऊ दियो न भत्ता सहितको तालीम । विऊ आफै राखेर किन अर्को वर्ष नरोपेको भन्ने मेरो जिज्ञासामा जवाफ आयो, त्यो संस्थाको लागि हामी किन विऊ राख्ने ? दियो भने रोप्ने हो नदिए तरकारी नखाने हो । घरमा त्यसरी नै सित्तैमा आएको सोलार बत्तीको जलेको चिम फेर्नुको साटो टुकी नै बाल्न रुचाउने अनि सोलार विग्रीयो भन्दै अर्को गैससं चाहर्दा नयाँ सोलार प्रणाली नै जडान गर्दिने गैससंहरुको अनौठो मिलन छ कर्णालीमा ।

अनि फेरी सरकारले दिन लागेको जन्म मृत्यूमा २० किलो चामलको नियती सम्झन पुग्छु । त्यो जन्मेको नवजात शिशुको भविष्यको बारेमा सोच्छु, त्यो खरानी भएको शरीरले भोगेको जिन्दगीको कल्पना गर्छु । कठै सरकार, तिमी २० किलो चामल दिएर कर्णालीलाई अर्को २० वर्ष पछाडि किन धकेल्दै छौ ??

Friday, March 11, 2016

गजल

सम्झना तिम्रो याद बनी आँशु सँगै झर्छ किन ?
तिमीलाई छोई हावा म तिर बग्ने गर्छ किन ?
बिछोडमा आगो सरी कसको पो जल्दैन मुटु ?
जानी सत्य यो फेरि हर पल आफै मर्छ किन ?
समयको राज्यमा धड्कनको भाषा कसले बुझ्छ र ?
हर धड्कनमा नाम त्यो आत्मा भरी सर्छ किन ?

हिजो भन्दा आज धेरै, माया यसरी बढ्छ किन ?
माया बढ्न दुई मुटु यो टाढा हुन पर्छ किन ?