ब्रजेश खनालको ट्विटर एकाउण्टबाट जुनेलीको
लोकार्पणको बारेमा थाहा पाए पछि कार्यक्रममा जान मन लागेको थियो । उसो त फिरफिरेको
लोकार्पणमा पनि जान मन थियो तर प्राथमिकतामा त्यो दिन अरु नै कार्य पर्न आयो र जान
पाइएन । जुनेलीको लोकार्पणमा भने अर्को एउटा महत्वपूर्ण कार्य भ्याएर करिब ४५
मिनेट ढिला भए पनि पुग्न चाहिँ पुगें । म पुग्दा नयनराज पाण्डे बोलि रहेका थिए
स्टेजमा । उनले उपन्यासको तारिफ नै गरिरहेका थिए । जुनेली यायावरको सिक्वल भएको र
यस्तो प्रयोग नयाँ भएको भन्दै जुनेलीको खुलेरै प्रशंसा गरेका थिए । त्यस्तै रविन्द्र
मिश्रले पनि यसमा वर्णन गरिएका ससाना कुराले मन छोएको भन्दै उपन्यासको आफूलाई मन
परेको केहि लाइन बाचन पनि गरेका थिए । मैले पनि सोहि दिन लाइन बसेर सो दिनको लागि
विशेष मुल्य रु ३०० मा किनेर ब्रजेश खनाललाई सहि गराएर जुनेलीलाई घरमा भित्राएको
हुँ । मलाई त्यसरी पहिलो पटक लाइन लागेर लेखकको हस्ताक्षर गरेको किताब लिदाँ
साह्रै आनन्द लागेको थियो ।
अनि आज जीवनमा नै पहिलो पल्ट आफूले पढेको
पुस्तकको साह्रै छोटो समिक्षा लेख्दैछु । यो किताब पढेपछि मनमा आएका भावहरुलाई
इमान्दार भइ समेट्ने प्रयास हो यो मेरो । यदि तिमी लेखक बन्न चाहन्छौ भने लेख रे ।
लेख्नु आफैमा साह्रै गाह्रो काम हो । झन् आख्यानमा कलम चलाउनु चानचुने काम पक्कै
होइन र यो जो पायो त्यसले गर्न सक्ने कार्य पनि होइन । यस्तो गाह्रो र अवजसिलो
कार्य दुई दुई पटक गर्ने आँट गर्नु भएकोमा ब्रजेश खनाललाई बधाइ ।
मैले यायावर पनि पढेको थिएँ । अहिले खासै धेरै
कुरा नसम्झिएपनि त्यो अनौठो विवाहित भर्जिन म्यानको कथा मलाई नौलो लागेको थियो अनि
अलि अलि पिmल्मी भए पनि रमाइलो लागेको थियो । यायावर नामलाई पुरै जस्टिफाइ नगरे जस्ताे लागे पनि
त्यसको कथा लाइन नै मलाई मन परेको थियो ।
ब्रजेश खनालको नयाँ उपन्यासको नाम जुनेली भन्ने
थाहा पाए पछि त्यो यायावरकै जुनेलीको कथा हो जस्तो पहिला नै लागेको थियो । नयनराज
पाण्डेले भने झैं यो यायावरको सिक्वल जस्तो नलागे पनि त्यहि जुनेलीको कथा रहेछ ।
तर यो पटक यसमा चिराग, सोपालिका र कमल जस्ता केहि नौलो पात्रहरु छन् र आधा उपन्यास जुनेली भन्दा
पनि यिनकै वरीपरी घुमेका छन् । यी पात्रहरुको कथा अनि यिनको भावना समेट्न लेखक सफल
देखिएका छन् । चिरागको रुपमा कथा वाचन प्रभावकारी र यर्थाथ नै अनुभव हुन्छ । तर जब
जुनेलीले यायावरमा भनिएको बैकुण्ठको भर्सनको कथा (जुनेलीकाे कथा) लाई आफ्नो भर्सनमा भन्न थाल्छे
विस्तारै उपन्यास र लेखक दुवै ओरालो झर्न थालेको महशुश हुन्छ ।
जुनेली जब आफ्नो जीवनको वर्णन गर्न थाल्छे सबै
भन्दा पहिला त उसको बोली अनि कुरा असहज लाग्दै जान्छन् । काहिँ साह्रै दार्शनिक
जस्तो कुरा गर्छे अनि काहिँ गाउँले परिवेशमा हुर्केकी परम्परागत सोच उसमा देखा
पर्छ । काहिँ जुनेली क्रान्तिकारी जस्तै देखा पर्छे त काहिँ लाचार निमुखो
बन्दिन्छे । जुनेलीमा मात्र होइन यो गुण काहिँ काहिँ उसको आमामा र बाबुमा पनि देखापर्छ । यो पात्रको चरित्रकाे विविधता साह्रै असहज महशुश हुन्छ । यति हुँदा हुँदै पनि पाठकलाई यी विविधता
मान्छेमा सम्भव छ कि त जस्तो सोच्न बाध्य बनाउनु चाहिँ यो उपन्यासको सुन्दर पक्ष हो।
यो उपन्यासको अर्को महत्वपूर्ण पाटो भनेको यसको
कथा लेखनलाई लिएको छु । पुस्तक लोकार्पण कार्यक्रममा भनिए झै सरल भाषामा यो
उपन्यास पक्कै लेखिएको छ तर पनि यसको मूल कथा लेखन चाहिँ मलाई यायावर भन्दा फितलो
लागेको छ । बैकुण्ठको रुपमा र यहि उपन्यासको चिरागको रुपमा लेखक जति सफल छन् त्यति
नै असफल जुनेलीको रुपमा देखिएका छन् । नारी संवेदनालाई जबरजस्ती बुझ्ने प्रयास
केहि ठाउँमा गरेका भएपनि यसमा लेखक त्यति सफल देखिँदैनन् । अर्को साह्रै खड्केको
कुरा चाहिँ लेखक प्रि अकुपाइड भएर लेखेका हुन कि जस्तो भान हुन्छ विशेष गरी
जुनेलीको हकमा । यायावरमा भेटेको जुनेलीलाई सुन पानी लगाएर चोख्याउन खोजेको जस्तो
अनुभुती हुन्छ । बरु सोपालिकाको कथा भन्दा चाहिँ लेखक मिठो पनि सुनिएका छन् अनि
सहज पनि देखिन्छन् । तर सोपालिकाको र उनको पति शरद विचको अन्तरगंको वर्णन किन
जरुरी थियो त्यो चाहिँ मैले बुझ्न नसकेको कुरा हो ।
उपन्यासको केहि ठाउँमा सामन्य त्रुटि भेटिएका छन्
। यायावरमा पनि यस्ता त्रुटि भेटिएका थिए । यस्ता त्रुटिलाई कति हलुका रुपमा लिन
सकिन्छ त्यो बहसको विषय बन्न सक्छ तर राम्रो किताब बन्नको लागि यस्ता केयरलेस
त्रुटि चाहिँ निश्चय पनि हटाउनु पर्छ जस्तो लाग्छ । यी सामन्य त्रुटि ध्यान दिएर
पढ्ने सबैले सहजै औंलाउन सक्ने हुनाले त्यसको चर्चा यहाँ गर्न जरुरी लागेको छैन ।
समग्रमा भन्दा यो उपन्यास मलाई लेखकको पहिलो
उपन्यास भन्दा कमजोर लागेको छ । विशेष गरी जुनेलीले आफ्नो कथा वर्णन सुरु गरे पछि
यो उपन्यासको चमक घट्दै गएको महशुश हुन्छ । पहिलो हाफ सम्म साह्रै राम्रो लागेको
तर दोस्रो हाफमा र अन्तमा निराश बनाउने निकै चर्चा र आशा गरिएको चलचित्र जस्तो हुन पुगेको छ जुनेली ।
चिराग र सोपालिका पात्र जति सफल छ त्यसको तुलनामा जुनेली पात्र त्यति नै असफल छ ।
नेपाली साहित्यको राम्रो कृतिको रुपमा गणनामा नआए पनि यसको नौलो कथावस्तु र
प्रयोगले यसलाई पठनिय चाहिँ अवश्य बनाएको छ । यहि उपन्यासमा लेखकको जुनेली "५० औं" कृति भनिए पनि मलाई चाहिँ ब्रजेश खनालको "५० औं" कृति अझैं आउन बाकिँ छ जस्तो लागेको छ र यसको लागि उनलाई अग्रिम शुभकामना
।
कर्मठ सुवेदी
२०७२ । ११ । ४