Wednesday, December 30, 2020

लक्ष्मी दाइ अनि उनकी मार्था

एकदिन अचानक विचार आयो, अब लेख्न थाल्नु पर्छ । के लेख्ने? कथा । कसको? आफूले देखेको अनि चिनेका पात्रहरुको । एकजना लक्ष्मीनारायण दाइको कथा लेख्ने विचार आयो । सन् २०१३मा एक दिन राष्ट्रिय प्रकृति संरक्षण कोषका बाबुराम लामिछाने दाइको फोन आयो । उनकै भाषामा गैडाल्याण्डबाट । भाइ फुर्सद छ ? बाघ गन्ने टिममा एकजना स्टुडेण्ट भोलेन्टियर पनि हुन्छ त्यसमा जाने हो ? मन हैसियो । नजाने भन्ने एउटा पनि कारण थिएन । हुन्छ दाइ भनें अनि भोली पल्ट विहान ७ः०० बजे जमलबाट टुरिस्ट बस चढें र लागें चितवन तिर बरालिन । ताना के. सी बेलायत तिर बरालिन गएका थिए म गएँ गैंडाल्याण्ड तिर बरालिन । वातावरणीय व्यवस्थापनमा स्नात्तकोत्तर भर्खरै सिद्धिएको थियो । वन्यजन्तु संरक्षणमा खासै अनुभव थिएन ।

थेसिस लेख्न ह्युमन वाइल्ड लाइफ (चितुवा) कन्फिल्क्ट छानें । अस्कल देखिकोसँगै पढेको साथी विकल्प अधिकारीको जन्म थलो लम्जुङ्गको सुन्दरबजारको डाँडा काँडा १५ दिन सम्म चहार्दै चितुवाको स्क्याट अनि त्यसको उपस्थितीको साइनहरु खोज्दै हिड्यौं । ती स्क्याटहरुको के मा प्रयोग गर्ने ? कसरी गर्ने ? केहि थाहा थिएन । 

फिल्ड जानु अघि डा. प्रहलाद योञ्जनसँग एक घण्टा उहाँकै अफिस रिसोर्स हिमालयमा अनौपचारिक छलफल गरेका थियौं । डा. योञ्जनले जुन हौसला साथ हामीलाई केहि वन्यजन्तु संरक्षणमा व्यवहारिक ज्ञान दिनु भयो । त्यसको तत्कालिन प्रभाव स्वरुप हाम्रो उर्जाशिल मनमा बन्यजन्तु संरक्षणमा केहि गर्नु पर्छ भन्ने दृढ भावना जागिृत भएको थियो । विडम्बना त्यसको केहि समय पछि नै साइकल दुर्घटनामा उहाँको मृत्यु भयो । केहि कोसिस पश्चात र केहि विज्ञबाट कृटिसाइज भए पछि त्यो रिसर्च वा थेसिस कहिले पुरा हुन सकेन । 

डा. योञ्जनको मृत्युले धेरैले धेरै थोक गुमाए, हामीले बन्यजन्तु संरक्षणमा केहि गर्नु पर्छ भन्ने जोस नै गुमायौं । आज अन्य क्षेत्रमा काम गर्दै गर्दा सिद्धिचरण श्रेष्ठले भनें झैं भाग्य लहरमा लहरी लहरी पुगें म यस मरुस्थलमा कसरी भने जस्तो लाग्छ । डा. योञ्जन प्रति हार्दिक श्रद्धाञ्जली । 

बन्यजन्तु क्षेत्रमा यो बाहेक भएके अर्को अनुभव भनेको बर्ड वाचिङ्ग थियो । सन् २००८।०९ देखि शनिबार विहान विहान काठमाण्डौंको एउटा समूह हामी बर्ड वाचिङ्ग गर्न वरिपरिका डाँडा अनि फाँटहरु चाहथ्र्यौं । छुट्टै आनन्द मिल्थ्यो । कोलाहलबाट टाढा हरिया जंगल अनि रंग बद्लिरहने फाँटहरुमा चराहरु हेर्दै, चिन्दै तिनको रंगनि दुनिँयामा हराँउदा श्यामश्वेत जिन्दगी पनि त्यसै रंगीन लाग्थ्यो । जुन आजका मितीसम्म समय मिलाएर निरन्तरता दिने कोसिस गरी नै रहेको छु ।

यति अनुभवको साथ म बाघ गन्न जान तयार भएँ । दुई दिनको तालिम पश्चात हामी ७ जनाको टोली नवलपरासीको कानामाना क्षेत्रमा क्यामरा ट्रयाप मार्फत बाघ गन्नको लागि प्रस्थान गर्यौं । फागुनको महिना थियो, जंगल भित्रको मौसम मन छुने खालको थियो । सप्तगण्डकीमा काठको डुंगा चढि प्रसिद्ध त्रीवेणी धामलाई वारी छोड्दै हामी पारी लाग्यौं । दुई भरिया सहित आ–आफ्नो झोली गुञ्टा, २२ दिनको रासन अनि अरु बन्दोबस्तीका सामान बोकि काना खोलै खोला आधादिनको यात्रा आधा दिन ढले पछि सुरु गर्यौं । 

चुरे क्षेत्रमा पर्ने त्यो घना जंगल भर्जिन ल्याण्ड जस्तो थियो । एकजना सदस्य पहिला पनि यो क्षेत्रमा धेरै पटक आइसकेकोले हाम्रो क्याम्प बस्ने स्थानको ज्ञान उसैलाई थियो । जिन्दगीमा पहिलो पटक बाघको पाइलाहरु हेर्दै अनि कहिले वारी किनार कहिले पारी किनार त कहिले खोलैखोला हिँड्दै झमक्क साँझमा हामी क्याम्प गर्ने ठाउँमा पुग्यौं । साथमा लगेका दुई ठूला त्रिपाल, कुटो कोदालो अनि खुर्पाको सहायताले सालका केहि खाँबा काटि जसो तसो ज्यान ढलाउने बन्दोबस्त गर्यौं । छेउमा ठूलो धुनी बालेर अनि दुईटा चुलो बनाएर हाम्रो भान्छे लक्ष्मी दाइ र उनका सहयोगी राम चौधरी दाइ मिलेर रातको खाना बनाए । छेउमा उहि काना खोला बगीरहेको थियो । फराकिलो तर गहिराइ नभएको त्यहि खोलाको पानी पिउन देखि धुन सम्म प्रयोग गर्नुको विकल्प थिएन । एउटा अनौठो अनि स्वर्गीय आनन्दको अनुभव भइ रहेको थियो ।

त्यँहि २२ दिनको बसाइमा भेट भएको थियो लक्ष्मी दाइसँग । खासमा पेसाले जंगल गाइड थिए तर यो ट्रिपमा आउन कै लागि उनी हाम्रो भान्छे भएका थिए । हरेक विहान सात बजे हामी जंगल जानु अघि नै दाल भात अनि प्राय आलु प्याजको तरकारी पकाइ तयार गर्दिन्थे । दिउसो जंगलमा खाजा खानको लागि दालमोठ, चाउचाउ र चिउरासँग अदुवा लसुन पिनेर बनाको अचार पनि हाल्दिन्थे । दिनभरी साँझको लागि लक्ष्मी दाइ र राम दाइ भएर दाउरा खोज्थे, धुनी बाल्न मुडाहरु ल्याउँथे अनि कहिलेकाहिँ निउरो खोजेर लियाइ पकाउँथे । साँझको खाना खाए पछि धुनी छेउमा बसेर गाँजा तान्थे अनि विस्तारै जीवनको आफ्नो अनुभवका पोका खोल्दै जान्थे ।

त्यो बेला तिनको उमेर त्यस्तै ४५ वर्ष जति थियो । कहिले तीन दिन चितवनको जंगलमा हराएको कथा भन्थे त कहिले आफ्नो जन्मथलो छोड्नु परेको व्यथा पोख्थे (हालको चितवन राष्ट्रिय निकुञ्ज भित्रको पदमपुरमा जन्मेका उनी परिवार सहित निकुञ्ज बाहिर स्थानतरण भएका थिए) । बाघलाई औधि माया गर्थे । भन्थे, “हेर भाइ, बाघ जंगलको राजा हो, हामी बस्तीको । जसरी एउटा राज्यको राजाले अर्को राज्यको राजाको सम्मान गर्छ बाघले पनि मान्छेको सम्मान गर्छ । ऊ कहिल्यै मान्छेको अघि पर्न चाहिँदैन । हरेक दिन बिहान बाघले सूर्य नारायणलाई नमन गर्छ अनि एउटै चिज माग्छ, “भगवान, मलाई आज मान्छेसँग भेट नगराई देऊ । ”

कति गफजस्ता लाग्ने कथा हुन्थे । कति कथा जस्ता लाग्ने गफ । कति दुःखका गाथा हुन्थे । कति ठट्टाहरु हुन्थे । चितवनमा पहिला बन कुखुरा थिएन रे । एक दिन उनका हजुरबुवा काँधमा दुइवटा टोकरी भरी कुखुरा राखि बेच्न शहर जाँदै थिए रे । बाटोमा पिसाब लागे पछि एउटा डिलमा दुईटा टोकरी राखि पिसाब फेर्न छेउ तिर लागेछन् । ठिक त्यहि बेला ठूलो हुरी आएछ अनि ती टोकरीहरु ढालि दिएछ । भएभरका सबै कुखुरा भागेर जंगलतिर छिरेछन् । त्यसपछि चितवन जंगल भरी कुखुरै कुखुरा भएका रे । उनको गफ गर्ने शेली, उनको चौधरी बोली बडो आकर्षक थियो । हाम्रो हरेक साँझ त्यो जंगलको एकान्तमा उनको कथाहरु सँगै हाँसेर बित्थ्यो ।

अनि एक दिन उनले मार्थाको कथा भने । हो त्यहि कथा लेख्न मन थियो । तर धमिलिएको सम्झनाको त्यान्द्रोमा ती पात्रहरु र कथा कता रुमलिए कता । त्यो कथालाई आफ्नै पात्रहरु दिन पनि खोजें । तर पात्रहरुले मलाई लगातार गिज्जाइ रहे अनि अन्ततः हार मानेर उनको त्यो कथा होइन उनकै बारेमा केहि लेख्ने जमर्को गर्दैछु ।

अहिले सम्झँदा घरि घरि तिनको नाम मार्था होइन कि जस्तो नि लाग्छ । सरुभक्तको पागलबस्तीकी मार्थालाई मैले लक्ष्मी दाइको मार्था पो बनाए कि जस्तो नि हुन्छ । तर मेरो लागि तिनी त्यहि मार्था थिइन जसले लक्ष्मी दाइको जीवनमा नयाँ रंग ल्याइदिइन् ।

मार्था चितवन घुम्न केहि वर्ष अघि आएकि रैछिन् । लक्ष्मी दाइ गाइड भएर तिनलाई चितवनका जंगल घुमाएका रैछन् । मार्थाको व्यक्तित्व साह्रै आकर्षक थियो रे । लक्ष्मी दाइका हरेक कुरामा मजाले मन खोलेर हाँस्थि रे । लक्ष्मी दाइले उसलाई केहि भनेर जिस्काउँदा होस् वा उसको तारिफ गर्दा होस जेमा पनि निर्धक्क हाँस्ने तिनको बानी थियो रे । सबैको ख्याल राख्ने अनि अति नै दयालु थिइन रे । तिनलाई जस्ले भेट्यो त्यसको दिन नै उज्जयालो हुन्थ्यो रे । जंगल घुम्दै गर्दा, अनेक गफ गर्दै गर्दा एक दिन लक्ष्मी दाइलाई महसुस भएछ कि उनी मार्थाको मन भित्रको जंगलमा कतै हराइ सकेछन् । त्यो जंगल घुमाइको क्रममा मार्थाले लक्ष्मी दाइलाई एउटा फ्रेन्च गीत पनि सिकाकि रहिछिन् । त्यो गीत हरेक साँझ लक्ष्मी दाइ गाउँथे । हामी शब्द बुझ्दैन थियौं तर लक्ष्मी दाइको स्वरमा छुट्टै तरङ्ग आउँथ्यो । मार्थाको लागि भन्दै उदित नारायण झाको एउटा नेपाली गीत पनि गाउँथें आफ्नै शैलीमा । तिमी नभए जिन्दगानी काँडा शरीर छ फेरी पनि मेरो केहि गुनासो छैन ।

अन्तिम दिन होटलमा मार्थाले उनलाई तिनीसँगै फ्रान्स जाने प्रस्ताव पनि गरेकी थिइन रे । तर घरमा भएकी श्रीमती अनि छोरीहरुको कारणले गर्दा जान्छु भन्न सकेन छन् । 

मार्थाका कुरा अचम्मका हुन्थे रे । लक्ष्मीदाइ राम्ररी अंग्रेजी पनि नबुझ्ने अनि मार्थालाई पनि अलि अलि मात्रै अंग्रेजी आउने । सोध्थ्यौ, सिनेमामा जस्तो भाषा पनि राम्ररी नबुझि कसरी प्रेम बस्यो मार्थासँग । भन्थे, “मार्थाको कुरा नबुझेपनि त्यो केटिले जीवनमा धेरै भोगेको थाहा हुन्थ्यो, अनि त्यसका हरेक बोली, हाउभाउले यसरी खिच्थियो जसरी चुम्बकले फलाम । मैले उल्टो बुझेको पनि हुन सक्थेँ तर मन परे पछि जे पनि सुल्टो लाग्ने रहेछ । श्रीमतीलाई साह्रै माया गर्थें तर मार्थासँग अचम्मको मोह बसेको थियो । त्यसको मनमा पनि सायद त्यस्तै थियो होला र त फ्रान्स लैजाने प्रस्ताव गरी ।”

हरेक साँझ मार्थाका केहि कुरा हुन्थे । हरेक गाँजाको सर्कोमा लक्ष्मी दाइ मार्थालाई नै सम्झन्थे । कहिले एक पटक फेरी भेट्न मन छ भन्थे त कहिले भेट नभए हुन्थ्यो पनि भन्थे । बाघ गन्न जंगलमा रुमलिरहेका हामी केहि प्राणीहरुलाई लक्ष्मी दाइको कथाले हरेक साँझ यसरी नै घोचि रहन्थ्यो । थाहै नपाइ प्रत्येक साँझ हाम्रो एक टुक्रा मुटु मार्था र लक्ष्मी दाइको लागि चुँडिदै जान्थ्यो अनि त्यहि धुनीमा स्वाह हुन्थ्यो । 

२१ रात बिताए पछि २२ औं दिन त्यो जंगल छोड्नु थियो । मनको एउटा चोइटा अनि मार्थाका कथाहरुको एउटा अंश त्यहि धुनीमा छोड्दै हामी त्यो जंगलबाट बिदा भयौं । अहिले पनि हरेक साँझ लाग्छ लक्ष्मी दाइ त्यहि फ्रेन्च गीत गाउँदै होलान् अनि तिमी नभए जिन्दगानी काँडा शरीर छ फेरी पनि मेरो केहि गुनासो छैन भन्दै मुस्कुराउँदै होलान् । फर्कदा निकै पर पुगेर त्यो धुनीको धुँवालाई एक पटक हेरेको थिएँ अनि सोचेको थिएँ यी धुवाँले हाम्रो सम्झनाका ती कुइनेटाहरुलाई कहाँ पुराउँदै होला ?


२०७६ भदौ १४ शनिबार


No comments:

Post a Comment