मलाई ससानो कुराले आकर्षित गर्छ । आफ्नो वरपर भइरहेको घटनाहरुलाई सँधै नियालि रहेको हुन्छु । अझ अपरिचित मान्छेका गतिविधी नियाल्नु र त्योबाट आफू शान्त रुपमा मनोरञ्जित हुनु मेरो एउटा सोख नै हो । यहि सोखले गर्दा मैले कयौं पटक आफूसँगै हिँडिरहेका साथीहरुको गुनासो नि सुन्नु परेको छ । तर मैले यो सोख कहिल्यै मार्न सकिन र किन हो किन जरुरी पनि ठानिन । यो घटना २०६७ सालको हो । साँझको समयमा म सँधै जसो एउटा भट्टीमा चिया पिउन जान्थेँ । अनि यस्तै कयौं घटनाको साक्षी बनेर फर्किन्थेँ ।
एक साँझ सदा झैं हात्तीवनमा अवस्थित त्यो भट्टी कम चिया पसलमा म पुगेको थिएँ । पसलकी साहूनी अर्ध वैंशे उमेरकी हेर्दा चटक्क परेकी राम्री आकर्षित युवती थिइन । सायद थुप्रै कारण मध्य यो नै एक उत्कृष्ट कारण थियो जसले गर्दा त्यो पसलमा हर साँझ अन्कौं मान्छेको गतिलो जमघट हुने गर्दथ्यो । म चिया खान जान्थें तर मैले पसलमा छिरेर एक कप चिया भन्दा पसलका थुप्रै ग्राहक मेरो मुख हेर्थे । मानौं साँझमा त्यो पसलमा चिया खानु एउटा अघोषित अपराध हो अनि म एउटा खुलम्खुल्ला अपराध गर्दै गरेको अपराधी हुँ । सबै टेबलमा छोएला, सुकुटी, भटमासहरुसँग हरेक गिलासबाट थरी थरीका लोकल रक्सी हाँसि रहेका हुन्थे । साथमा अनेक रंगका गफहरु हावामा इन्द्र धनुष बन्दै मेरो कानमा आइ ठोकिन्थे र म त्यसमै आनन्दित हुँदै चियाको चुस्कीसँगै करिब दश पन्ध्र मिनेट त्यहाँ बिताउँथे र ती आवाज जन्माउने मन मस्तिष्कहरुलाई हृदय देखि नै नमन गर्दै फर्किन्थेँ ।
त्यो साँझ त्यहाँ एउटा मानिसको ठूला ठूला स्वरले अरुको आवाज फिका बनाइ रहेको थियो । त्यो आवाजमा गुनासो थियो, मानिसले गर्न पर्ने कामको सूची थियो, उसको जमना र अहिलेको जमाना बिचको खाडल नाप्ने प्रयत्न थियो अनि एउटा रोष थियो उसका वरिपरीका हरेक परिवेश प्रती । बेला बेला ऊ गम्भीर हुन्थ्यो र गम्भीर मुद्रामा गिलासको लोकल "कडा" रक्सी स्वाट्ट पार्थ्यो र त्यो तिक्तता मेट्न दुई तीन टुक्रा सितन छिटो छिटो चपाउँदै निल्थ्यो । ऊ आफ्नो तर्क अरु रक्स्याहाहरुसँग नभइ त्यही साहूनीसँग व्यक्त गर्दै थियो । साहूनीपनि ग्राहक भनेको भगवान हो र उसलाई खुशी राख्नु पर्छ भन्ने भावमा उसका हरेक कुरामा स्वीकृती सूचक मुस्कुराउँदै टाउको हल्लाउँदै र बेलाबेलामा, 'त्यो त हो' भन्दै उसको हौसला बढाउँदै अरु ग्राहकहरुको अर्डर पुरा गर्दै उसको कुरा ध्यानसँग सुनिरहेको भान गर्दथी । साहूनी अन्त व्यस्त हुँदा भने उसको तर्कहरु त्यही टेबलमा एक्लै बसिरहेको र उसले पहिलोपल्ट भेटेको ऊ जस्तै अर्को ग्राहक पट्टी सोझिन्थ्यो । तर साहूनी फेरी फुर्सदिलो हुने बित्तिकै ऊ त्यो ग्राहक प्रति एकदम अन्जान व्यवहार गर्दै आफ्नो दृष्टि एकटकसँग साहूनी माथी नै राख्दै बोली रहन्थ्यो । त्यो मानिसलाई मैले पहिलापनि त्यही पसलमा धेरै चोटि देखेको थिएँ तर त्यो दिन किन हो ऊ त्यस पसलमा विशेष बनीरहेको थियो ।
म पुग्दा सायद ऊ गफको मध्य भाग तिर थियो, तर मलाई गफको विषयवस्तु समाउन धेरै कसरत गर्नै परेन । कारण ऊ हरेक तर्क घुमाइफिराइ धेरै पटक राख्थ्यो र अगाडि बोलेको कुरा पनि दोहोर्याइ रहन्थ्यो । मलाई भित्र छिर्ने बित्तिकै आजको साँझ विशेष हुन्छ जस्तो लागि सकेको थियो नत्र भने कति साँझ त खासै कसैको पनि केही ठोस कुरा नसुनी म शुन्य भावमा बाहिरेको हुन्थें । तर त्यो साँझ उसको ठूल्ठूलो स्वर, ऊ भित्र रक्सीले गर्मी बनाएको मन र त्योसँगै बाफिएर बाहिर निस्किरहेका उसका भावनाले मलाई राम्रैसँग आकर्षित गरिसकेको थियो ।
उसको मूखबाट निस्केको पहिलो वाक्य जुन सिधै रमाइलो प्रसँगको संकेत गर्थ्यो आएर मेरो कानमा ठोकिन पुग्यो । ऊ भन्दै थियो, "भारतमा मान्छे चार पाँचवटा छोरछोरी जन्माउँछन्, तर यहाँ जाबो दुईवटा पाएपछि मान्छे डराउँछन् ।" मैले एकैछिनमा बुझी हालें म पुग्नु पूर्व ऊ साहूनीलाई जम्मा दुई छोराछोरी भएकोमा जिस्काइ रहेको रहेछ । ऊ रक्सीको हलुका नशामा आकर्षित अर्ध बैशें साहूनीसँग बच्चा जन्माउने प्रेरणा दिने गफ गर्दै थियो । किन हो म त्यसै रोमाञ्चित भएँ र त्यस गफमा विशेष ध्यान दिँदै ऊ सँगैको टेबलमा बसेँ र चिया मगाएँ । म तिर चिया मगाएकोमा सहानुभुती सूचक हो वा मूर्खताको भावमा एउटा फिक्का हाँसो फ्याक्दै ऊ आफ्नै गफमा तल्लीन हुन थाल्यो ।
"हाम्रो बाउ आमालेपनि हामीलाई जन्माइदिएर छोडेका हुन्, के नै खान दिन्थे र ? तर पनि हामी बाँचिहाल्यौं र अहिले पनि मजाले बाँचेका छँदै छौ नि!" जवाफमा साहूनीको मुस्कानपूर्ण जवाफ आयो । "खाना खाउन होइन, अहिले त पढाउन नै सकिँदैन, धेरै पाएर के गर्नु ?" साहूनीको जवाफ आउना साथ त्यसको विरुद्ध उसको यति छिटो अर्को तर्क आयो मानौं ऊ पहिला नै जान्द थियो साहूनीको जवाफ यहि आउँछ र त्यसको विरुद्ध बोल्ने कुरा यहि मात्रै नै हो । "पढाउनु नि किन पर्यो ? पढेर मात्रै के हुन्छ र ? सबैजनाले पढे भने नपढ्ने मान्छेले गर्ने काम कसले गर्छ ?" अब भने ऊ कसैको जवाफको प्रतिक्षामा थिएन र एकोहोरो बोली मात्रै रहेको थियो । म भर्खर आएको चियाको पहिलो चुस्की लगाउँदै ऊ तिर हेर्दै नहेरी सुनी मात्रै रहेको थिएँ । उसको स्वर झन् झन् ठूलो हुँदै भन्दै थिए, "सबैजना डाक्टर भए भने रोगी को हुने ? सबै इन्जीनियर भए भने बाटो बनाउँदा ढुङ्गा कसले बोक्ने ? मान्छेहरु किन यो कुरा बुझ्दैनन् ? मान्छेको त बुद्धि नै छैन । तपाईँ डाक्टर भएको भए हामीलाई छोएला कसले बेच्थ्यो ?" गिलासको रक्सी उचाल्दै ऊ अझ जोडलसँग तर गम्भीर बन्दै भन्यो,"यो रक्सी बनाउने मान्छे पनि पढेको भए सायद उसले पनि महँगो महँगो रक्सी बनाउँथ्यो होला अनि हामी यो रक्सीपनि नभाको भए कसरी बाँच्थ्यौं होला ?" ऊ आफूले आफूलाई व्यङ्ग्य गरेको केही समय पछि बुझे जस्तै गरी एक क्षण मौन रह्यो अनि आफ्नो ओठमा अपेक्षाको भावमा कृत्रिम हाँसो ल्याउँदै एक नजर गीलासको रक्सीमा नजर टक्क अडाएर हेर्दै एकै सासमा त्यो रक्सी स्वाट्ट पार्यो । उसको पछिल्लो बोलीले म ऊ तर्फ हेर्न बाध्य भएको थिएँ । तिक्त्ताले मुखका सबै छाला एक पटक खुम्च्याउँदै उसले एक टुक्रा छोएला मुखमा हाल्यो र साहूनीलाई अर्को एक गिलास थप्न अनुरोध गर्यो ।
साहूनीपनि पूर्व अभ्यस्त झैं उसले भन्नु भन्दा अघि नै अर्को गिलास रक्सी गिलासमा भर्दै थिईन् र उसको बोली सुन्नासाथ गुरुको आज्ञा पाइ कक्षा कोठा भित्र प्रवेश गरेकी छात्रा झैं उसको टेबलमा गएर रित्तो गीलास भर्दिइन । ऊ अघि छुटेको आफ्नो गफको त्यान्द्रो समाउने प्रयासमा बोल्यो,"त्यसैले साहुनी अर्को पनि पाउनु पर्छ" । फेरी जोडले हाँस्दै भन्यो,"कि साहुजी नै मान्दैनन् ?" उसको यो प्रश्नमा साहूनीपनि हाँस्दै होसीयारी पूर्वक जवाफ दिइन्,"साहूजी त किन मान्दैन थिए, मैले नै नमानेको । अहिलेको जमानामा पनि दुई वटा भन्दा धेरै पाएर के गर्नु? किन पो चाहियो र धेरै? न जोत्ने हात धेरै हुन्छ भन्नु छ न कुटो कोदालो चलाउनु छ ।" त्यही छेउमा उभि रहेको सानो छोरो तिर हेर्दै भनिन्, "आखिर बुढो भए पछि यिनले पनि हेर्ने होइनन्, आआफ्नालाई च्यापेर कता जाने हुन् । हात खुट्टा नलागुन जेल त हो, त्यसपछि त आफ्नो बाटो लागि हाल्छन् नि ।" आफ्नो आमाको मुखबाट आफ्नो कुरा हुँदा खोइ के बुझेर हो उसको चार वर्षको त्यो छोरो लजाउँदै मुस्कुरायो ।
साहूनीको जवाफमा सहि थप्दै त्यो मानिस बोल्यो,"त्यो पनि हो, हामीलाई त यिनीहरुले पछि लात हान्दै निकाल्छन् होला, अहिले हाडछाला एक गरी हुर्कायो पछि त्यही हाडछाला काढेर लान बेर लाउँदैनन् ।" उसको पछिल्लो वाक्य सिद्धिनु पहिले नै साहूनी कुनाको ग्राहकको अर्डर बोकी त्यस तर्फ गइ सकेकि थिइन् । अत: उसले आफ्नो पछिल्लो वाक्यको प्रतिकृया पाउन अघि देखि यी सब सुनिरहेको अर्को ग्राहक तर्फ हेर्यो । त्यो अर्को ग्राहकपनि सायद उसले मेरो प्रतिकृया खोजेको हो भन्ने बुझ्यो र केही बोल्नै पर्छ भन्ने भावमा भन्यो,"ठीक भन्नू भो, हामी बुढो हुँदा सम्म त यहाँ मान्छेले मान्छेलाई खान बेर लाउँदैनन्"। अलि विरक्त्तको भावमा त्यो अर्को ग्राहक ऊ अगाडिको सुकुटि चपाउन थाल्यो ।
साहूनी अब भने पुन: गफमा सामेल हुँदै भनिन्, "अनि किन पाउनु त धेरै छोराछोरी, मलाई त पुग्यो अब ।" साहूनीको गफ भित्रको पुनरागमनले ऊ त्यसै हौसिएर आयो र एक नजर साहूनीको मुखमा धेरै कुराले मिश्रीत भावमा हेर्यो र भन्यो,"कि धेरै बच्चा पाएपछि छिट्टै बुढि हुन्छु जस्तो लागेर हो ?" यस्ता प्रश्नबाट निकै अभ्यस्त साहूनी बोलिन्,"बुढि त भै सकें, यी कान्छो छोरो नै यत्रो भइ सक्यो अब नि बुढि नभए कहिले हुनु ?"
मलाई सायद त्यो दिनको कोटा पुगी सकेको थियो त्यसैले साहूनीको यो पछिल्लो भनाइमा मुस्कुराउँदै चियाको पैसा तिरें र निस्कें । निस्किँदै गर्दा सुनेँ, "तँपाई नै बुढि हुनु भयो भने हामी त झन् के भयौं होला अनि साहुजी त झन्….." लामो हाँसो विस्तारै मेरो कानमा मलिन हुँदै थियो । म एक्लै मुस्कुराउँदै ती सबै कुरा मनमा पुन: एकपटक दोहोर्याउँदै घर फर्केँ ।
२०६७ माघ २५को डायरीमा आधारित ।